खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित सरस्वती विद्यालयले गत साउन २४ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भन्यो। सोही अनुसार सबै विद्यार्थीलाई फोनमार्फत जानकारी गराइयो। कक्षा सुरू हुन थालेपछि विद्यार्थीहरू 'जुम एप' बाट अनलाइन...
खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित सरस्वती विद्यालयले गत साउन २४ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भन्यो। सोही अनुसार सबै विद्यार्थीलाई फोनमार्फत जानकारी गराइयो। कक्षा सुरू हुन थालेपछि विद्यार्थीहरू ‘जुम एप’ बाट अनलाइन कक्षामा जोडिन थाले। तर सिम्ले घर भएका कक्षा १० मा पढिरहेका धनकुमार मगर एक सातासम्म पनि अनलाइन कक्षामा हाजिर भएनन्। त्यतिञ्जेल उनी कुनै शिक्षकको सम्पर्कमा पनि आएनन्। विद्यालयले सम्पर्क गर्न खोज्यो तर फोन लागेन।
कक्षा सुरू हुँदैछ भन्ने खबर त धनकुमारलाई पनि पुगेको थियो तर नेटवर्क नटिपेका कारण उनी कक्षामा सामेल हुन सकिरहेका थिएनन्।
उता कक्षा सुरू हुँदै थियो यता धनकुमार कहाँ नेटवर्क टिप्छ भनेर मोबाइल घुमाउँदै थिए। घरि आँगनको वल्लो छेउ पुग्थे, घरि पल्लो छेउ। त्यसरी वल्लो छेउ, पल्लो छेउ गर्दा कुनै ठाउँमा झ्याप्प नेटवर्क टिपिदिन्थ्यो। अनि धनकुमार त्यो ठाउँमा डेग नचली टक्क अडिन्थे। तर के गर्नु उनको हात केहीबेरमै हल्लिहाल्थ्यो। अनि त नेट पनि गइहाल्थ्यो।
नेटको खोजीमा वल्लो छेउ र पल्लो छेउ गर्दागर्दा धनकुमार हत्तुहैरान भए। दिनदिनै नेटको खोजी गर्दागर्दै उता कक्षा छुटिरहेको थियो। जति ढिला गर्यो उति पढाइ छुट्छ भनेर उनले केही उपाय त लगाउनुपर्छ भनेर सोच्न थाले। दुई/तीन दिनपछि उनले कतै रूखतिर चढ्यो भने पो नेटवर्क टिप्छ कि भनेर डिलमै रहेको रूखमाथि चढेर मोबाइल घुमाउन थाले। नभन्दै त्यहाँ नेटवर्क मज्जाले टिप्यो। नेट पनि चल्न थाल्यो।
तर फसाद के भयो भने रूखमा चढेर घण्टौं मोबाइल बोकेर कक्षा लिन सम्भव थिएन। त्यसपछि धनकुमारले रूखमै डेरा बनाउने आइडिया लगाए। उनले दुई दिनमै डेरा आफैं तयार पारे। अनि भोलिपल्टैबाट कक्षा लिन थाले। एक सातापछि अनलाइन कक्षामा टुप्लुक्क देखा परेका धनकुमारलाई विद्यालयका प्रधानध्यापक नविन चाम्लिङले किन कक्षामा हाजिर नभएको भनेर सोधे। धनकुमारले सबै बेलिविस्तार लगाए।
‘साउन २४ गतेदेखि अनलाइन कक्षा सुरू गरेका थियौं। तर धनकुमार भाइ एक सातापछि मात्रै कक्षामा आउनुभयो। अनि यत्रो दिन कक्षा किन नआएको भनेर बुझ्दा नेट नटिपेकाले कक्षामा आउन नसकेको रैछ,’ प्रधानध्यापक चाम्लिङले भने, ‘पछि रूखमा नेटवर्क टिपेपछि त्यहाँ डेरा बनाउँदा समय लागेछ। डेरा बनेपछि त अहिले धनकुमार नियमित कक्षामा हाजिर भएको छ।’
उनले धनकुमारमा पहिल्यैदेखि पढ्नुपर्छ भन्ने हुटहुटी रहेको सुनाए। कक्षामा शीर्ष पाँचमा पर्ने धनकुमार खेलकुदलगायत बाहिरी क्रियाकलापमा पनि उतिकै अब्बल रहेको उनी बताउँछन्। ‘धनकुमार विद्यालयको राम्रो विद्यार्थीमा पर्छ। इमान्दार छ। भलिबल पनि एकदम राम्रो खेल्छ,’ चाम्लिङले भने।
तर रूखमा डेरा बनाएर पढ्न आएको देखेर भने प्रधानध्यापक चाम्लिङ पनि छक्क परे। किनभने उनले आफ्नो शिक्षणकालमा यस्तो दृश्य देखेका थिएनन्। त्यसपछि उनले धनकुमारलाई फोटो खिचेर पठाउन भने। धनकुमारले फोटो पठाउन साथ चाम्लिङले आफ्नो फेसबुकमा पोस्ट गरे। पोस्ट गरेको केही घण्टामै फोटो भाइरल भइदियो।
‘भाइलाई रूखमा डेरा बनाएर बसेको देखेर मलाई पनि कस्तो रैछ भनेर हेर्न मन लागेपछि फोटो खिचेर पठाउन भने। अनि फोटो फेसबुकमा पोस्ट गरेको थिएँ केहीबेरमै भाइरल भएछ,’ उनले भने। डेरामा बसेर पढ्न थालेपछि अहिले भने धनकुमारलाई नेटको कुनै झन्झट छैन। बेलाबेला त थोरै समस्या आउँछ तर पहिल्यै जस्तो हुँदैन।
उनले रूखमाथि डेरा बनाएर पढ्न थालेपछि भने धेरै सजिलो भएको बताए। ‘डेरा बनाएपछि सरहरूले भन्नुभएको कुरा मज्जाले बुझिन थाल्यो। आफूले नजानेको कुरा मज्जाले सोध्न सकियो। अहिले त धेरै सजिलो छ नि,’ धनकुमारले भने।
अहिले धनकुमारलाई यो कामको लागि धेरैले बधाई दिने गरेका छन्। सँगैका साथीहरूले राम्रो काम गर्यौं भनेर प्रशंसा गर्ने गरेको उनी बताउँछन्। आफू ग्रामीण भेगबाट रहेकाले पछि यस्ता ठाउँहरूका लागि केही गर्ने धनकुमारको सोच छ। अहिले आफूले यस्तो समस्या झेले पनि अब आउने नयाँ विद्यार्थीहरूले यस्तो समस्या झेल्नुनपरोस् भन्ने उनको कामना छ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807