पोखरा। पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा वाणिज्य उपाध्यक्ष पदका उम्मेद्वार मनोजकुमार श्रेष्ठलाई लामो व्यावसायिक अनुभव र संस्थागत जिम्मेवारीको निरन्तरताका रूपमा हेरिएको छ।
२७ वर्षको व्यवसायिक यात्रा, संघमा तीन कार्यकालको अनुभव र विभिन्न व्यावसायिक संस्थाको नेतृत्वबाट प्राप्त सिकाइलाई व्यवसायीको हितमा उपयोग गर्ने उनको दाबी छ।
२७ वर्षको व्यवसायिक यात्राबाट खारिएको अनुभव
श्रेष्ठ पोखराको व्यवसायिक क्षेत्रमा २७ वर्षदेखि सक्रिय छन्। मानस मार्केटिङ, मानस ट्रेडिङ र श्री सत्य साई ट्रेडर्समार्फत ट्रेडिङ व्यवसायमा आबद्ध उनले पेय पदार्थ, मदिराजन्य वस्तु तथा विभिन्न खाद्य सामग्रीको बिक्री-वितरण गर्दै आएका छन्।
लामो समय व्यवसायमै बिताएका कारण व्यवसायीका दैनिक समस्या, बजारको अवस्था, वितरण प्रणाली र व्यवसाय सञ्चालनका व्यावहारिक कठिनाइलाई नजिकबाट बुझेको उनको दाबी छ। यही अनुभवलाई संघको जिम्मेवारीमा उपयोग गर्ने उनको मुख्य आधार हो।
तीन कार्यकालले दिएको संस्थागत अनुभव
श्रेष्ठको पोखरा उद्योग वाणिज्य संघसँगको सम्बन्ध करिब ६ वर्षको छ। पहिलो कार्यकाल मनोनित सदस्यका रूपमा कार्यसमितिमा प्रवेश गरेका उनी दोस्रो र तेस्रो कार्यकालमा निर्वाचित भए। तेस्रो कार्यकालमा कोषाध्यक्षको जिम्मेवारीसमेत सम्हाले।
यसले उनलाई संघको निर्णय प्रक्रिया, आर्थिक व्यवस्थापन, संस्थागत कार्यशैली र व्यवसायीका समस्यालाई नजिकबाट बुझ्ने अवसर दिएको छ। त्यसैले उनका लागि वाणिज्य उपाध्यक्षको उम्मेद्वारी नयाँ सुरुवातभन्दा पनि अघिल्लो अनुभवलाई थप जिम्मेवारीमा विस्तार गर्ने प्रयासका रूपमा देखिन्छ।
व्यवहारमा सरल, अडानमा दृढ
श्रेष्ठको व्यक्तित्वको अर्को विशेषता उनको सरल स्वभाव र सबैसँग घुलमिल हुन सक्ने क्षमता हो। व्यवसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय भए पनि उनी आफूलाई अरूभन्दा फरक वा ठूलो देखाउनेभन्दा सहज रूपमा सबैसँग जोडिन रुचाउँछन्। व्यवसायी, सहकर्मी तथा विभिन्न संस्थामा आबद्ध व्यक्तिसँग उनको सम्बन्ध सहज र आत्मीय रहेको बताइन्छ।
सबैसँग मिलेर अघि बढ्ने उनको स्वभावले सहकार्य र संवादलाई प्राथमिकता दिने नेतृत्वको संकेत गर्छ। तर सरल हुनु उनका लागि आफ्ना अडान र एजेण्डामा सम्झौता गर्नु भने होइन। आफूले सही ठानेका विषयमा उनी स्पष्ट रहन्छन् र त्यसबाट सहजै पछि हट्ने स्वभावमा पर्दैनन्।
व्यक्तिगत सम्बन्धलाई आफ्नो निर्णयको आधार नबनाउने र संस्थागत हितलाई प्राथमिकतामा राख्ने उनको शैली देखिन्छ। त्यसैले उनका लागि सहमति भनेको सबै विषयमा सम्झौता गर्नु नभई फरक मतबीच पनि संवाद र सहकार्यको बाटो खोज्नु हो।
यही कारण श्रेष्ठको व्यक्तित्वमा सरलता र अडान सँगसँगै देखिन्छ। व्यवहारमा सहज, सम्बन्धमा मिलनसार तर जिम्मेवारी र एजेण्डाको विषयमा दृढ रहन सक्ने स्वभावलाई उनको नेतृत्व यात्राको महत्वपूर्ण पक्षका रूपमा लिन सकिन्छ।
संस्था बलियो बनाउने अडान
श्रेष्ठ राजनीतिक वा व्यक्तिगत प्रभावभन्दा संस्थागत भूमिकालाई प्राथमिकता दिने शैलीका रूपमा प्रस्तुत हुँदै आएका छन्। संस्था प्रभावकारी, पारदर्शी र जवाफदेही हुनुपर्ने उनको धारणा छ।
संघको नेतृत्वमा रहँदा निर्णय प्रक्रियामा स्पष्टता र संस्थागत हितलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिँदै आएका छन्। गलतलाई गलत भन्न सक्ने अडानलाई पनि उनका समर्थकले उनको कार्यशैलीको विशेषताका रूपमा लिने गरेका छन्।
नेतृत्वको अर्को अनुभव
पोखरा अधिकृत बिक्रेता संघका निवर्तमान अध्यक्षका रूपमा श्रेष्ठले अर्को व्यावसायिक संस्थाको नेतृत्व गरिसकेका छन्। मदिरा व्यवसायी समिति कास्की र न्यूरोड व्यवसायी संघका सल्लाहकार तथा एनवाइएफका संस्थापक संयोजकका रूपमा समेत उनी विभिन्न संस्थासँग जोडिएका छन्।
यी जिम्मेवारीले उनलाई व्यवसायीबीच समन्वय, संस्थागत व्यवस्थापन र साझा समस्या उठाउने अभ्यास दिएको देखिन्छ। अब यही अनुभवलाई पोखरा उद्योग वाणिज्य संघको ठूलो जिम्मेवारीमा कसरी उपयोग गर्छन् भन्ने प्रश्न महत्वपूर्ण हुनेछ।
यस्ता छन् एजेण्डा र कार्यान्वयन
श्रेष्ठले युवा उद्यमीलाई उद्यमशीलतामा सहजीकरण गर्ने, बेरोजगार युवा र व्यवसायीबीच रोजगारीका अवसर जोड्ने डिजिटल प्लेटफर्म निर्माण गर्ने तथा व्यवसायिक समस्या समाधानका लागि व्यवसायिक मेलमिलाप केन्द्र गठन गर्ने एजेण्डा अघि सारेका छन्।
यी एजेण्डा व्यवसायीका तत्कालीन समस्यासँगै नयाँ पुस्तालाई व्यवसायमा जोड्ने दीर्घकालीन सोचसँग सम्बन्धित छन्। तर एजेण्डा घोषणा गर्नु र त्यसलाई संस्थागत योजनामा परिणत गरेर कार्यान्वयन गर्नु फरक विषय हो। उपाध्यक्षको जिम्मेवारी पाएपछि श्रेष्ठका लागि यही कार्यान्वयन क्षमता प्रमुख परीक्षाको विषय बन्नेछ।
अनुभव नै मुख्य बल
महाधिवेशनमा श्रेष्ठ अध्यक्ष पदका उम्मेद्वार बलराम आचार्य नेतृत्वको समूहबाट वाणिज्य उपाध्यक्ष पदमा उम्मेद्वार छन्। ‘सबल व्यवसाय, समृद्ध पोखरा’लाई लक्ष्य बनाएका उनले व्यवसायीबीच एकता, सहकार्य र संघको संस्थागत भूमिकालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
लामो व्यवसायिक अनुभव, संघमा तीन कार्यकालको संलग्नता, कोषाध्यक्षका रूपमा काम गरेको अनुभव र अन्य व्यावसायिक संस्थाको नेतृत्व उनका प्रमुख बल हुन्। तर यस पटकको चुनावले अनुभव मात्र होइन, त्यसलाई व्यवसायीको प्रत्यक्ष हितमा कति परिणाममुखी बनाउन सक्छन् भन्ने पनि परीक्षण गर्नेछ।
श्रेष्ठका लागि वाणिज्य उपाध्यक्षको उम्मेद्वारी अर्को पद प्राप्त गर्ने अवसर मात्र होइन, विगतमा बटुलेको अनुभवलाई संघको नीतिगत र व्यावहारिक काममा रूपान्तरण गर्ने अवसर पनि हो। अब उनको मुख्य चुनौती यही अनुभवलाई परिणाममा बदल्दै व्यवसायीको भरोसा जित्नु हुनेछ।
प्रकाशित मिति २०८३ भदौ १९ गते शुक्रबार १०:२०