२०८३ साल भदौ १० गते रसुवामा गएको भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको पीडामा साथ दिने उद्देश्यले क्लबको आह्वानमा रोटरियन सदस्य तथा परिवारजनबाट संकलित आर्थिक सहयोगबाट नुवाकोटको त्रिशूली बजार, बिदुर–९ का १०० बाढीपीडित घरपरिवारका लागि आवश्यक आधारभूत भान्साका सामग्री, महिलाका भित्री वस्त्र, चाउचाउ तथा मिठाई लगायतका राहत सामग्री खरिद गरी वितरण गरियो।
२०८३ साल भदौ २० गते रोटेरियनहरूको टोली प्रभावित क्षेत्रमा पुगेर उक्त राहत सामग्री पीडित परिवारलाई प्रत्यक्ष हस्तान्तरण गरेको थियो। परियोजना संयोजक रोटेरियन अब्राहम खानको समन्वयमा स्थानीय व्यक्ति तथा सम्बन्धित पक्षसँग आवश्यक सहकार्य गरी राहत सामग्री वास्तविक प्रभावित परिवारसम्म पुर्याइएको थियो।
राहत वितरण कार्यक्रममा क्लबका अध्यक्ष रोटेरियन राजकुमार गुरुङ, पूर्वअध्यक्ष रोटेरियन प्रेमप्रसाद शर्मा तथा कोष संकलन संयोजक रोटेरियन धनञ्जय सिंह (डेभिड)को उपस्थिति रहेको थियो। साथै, धादिङ रोटरी क्लबका पूर्वअध्यक्ष रोटेरियन अशोककुमार बस्नेतको विशेष समन्वय तथा सहयोग रहेको थियो।
“Service Above Self” भन्ने भावनाका साथ गरिएको यस मानवीय प्रयासले विपद्को समयमा प्रभावित परिवारलाई केही राहत र आशा प्रदान गरेको क्लबले जनाएको छ। यस अभियानले रोटरीको यस वर्षको मूल नारा “Create Lasting Impact” लाई व्यवहारमा उतार्ने प्रयास गरेको छ।
यस मानवीय अभियानमा आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग गर्नुहुने सम्पूर्ण रोटरियन सदस्य, परिवारजन, स्थानीय सहयोगी तथा शुभेच्छुकहरूप्रति रोटरी क्लब अफ पोखरा न्यूरोडले हार्दिक आभार व्यक्त गरेकोछ ।
हेरौ भिडियोः-
8762fc9b-bde0-41af-b32a-a60618987597
प्रकाशित मिति २०८३ भदौ २२ गते सोमबार १०:४८