हिन्दु धर्मावलम्बीले आफ्ना मातापिता र परि आए आफन्त समेतको काज किरिया गर्ने गर्छन। उनीहरुले गर्ने काज किरियाका क्रममा सेतो बस्त्र पहिरिनुका साथै १० दिनसम्म नून बार्ने गरिन्छ भने छोईछिटो गर्न पनि पाइदैन। सुद्ध भएर १३ दिनसम्म काज किरिया गर्ने हिन्दु परम्परा छ। तर झापाका एक व्यक्तिले आफ्नो घरमा पालेको एक लहिनो गाइको मृत्यु भएपछी किरिया गरिरहेका छन् .
झापाको मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले सात दिन अघि मरेको आफ्नो घरको लहिनो जर्सी गाईको हिन्दू परम्परा अनुसार मानिसको जस्तै गरेर काज किरिया गरिरहेका छन् ।मानिस मर्दा गरिने दशगात्र कर्मसरह सेतो वस्त्र धारण गरेर किरिया बार्दै आएका उनले दश दिनका दिन ब्राह्मण बोलाएर विधिपूर्वक कर्मकाण्ड गर्ने जानकारी दिए।
पहिलो बेतको उक्त गाईको मर्ने बेलामा दाम्लो खोलिएको थिएन। दाम्लो नखोलिएका गाई मर्दा मानिसको मृत्युसरह काजकिरिया बार्ने हिन्दू चलन छ। “हिन्दू धर्ममा गाईलाई आमाको रुपमा पूजिन्छ। धर्म र करकापले किरिया बारेको नठानिदिनुहोला,’ उनले भने, ‘जन्म दिने आमाको दुध बढीमा दुई वर्षसम्म खाइन्छ। गौमाताको दुध जीवनभर खाने गरिन्छ। मनैदेखि श्रद्धा जागेको हुँदा दश दिने काजकिरिया गरिरहेको हुँ।’
अहिले उनी गाईको थलामा नै कोरामा बसेका छन्। कसैले नछोउन् भनेर अलग्गै बस्नु भएको उनको कम्मरमा कुशको दाम्लो बेरिएको छ। किरियापुत्री सरह एक छाक अलिनो खाने गरेको उनले बताए। मरेको गाईलाई थला नजिकै गाडिएको छ। दश दिने किरिया सकेर कोकामा लगेर दाम्लो सेलाउने उनले जानकारी दिए।
प्रकाशित मिति २०७८ असार २३ गते बुधबार ०७:०५