शवको अन्त्यष्टि गर्न दाउरा समेत नभएपछि

शवको अन्त्यष्टि गर्न दाउरा समेत नभएपछि

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर ८ गते सोमबार ०९:२४

काठमाडौ । सामुदायिक वनबाट काठ दाउरा सङ्कलनमा बन्देज लगाइएपछि कञ्चनपुरमा शव जलाउन दाउराको अभाव हुन थालेको छ । सामुदायिक वनबाट थोरै मूल्यमा उपलब्ध हुने काठ दाउरा नपाइने भएपछि स्थानीय उपभोक्तालाई चर्को मूल्यमा मिलहरुबाट शव जलाउनका...

काठमाडौ । सामुदायिक वनबाट काठ दाउरा सङ्कलनमा बन्देज लगाइएपछि कञ्चनपुरमा शव जलाउन दाउराको अभाव हुन थालेको छ । सामुदायिक वनबाट थोरै मूल्यमा उपलब्ध हुने काठ दाउरा नपाइने भएपछि स्थानीय उपभोक्तालाई चर्को मूल्यमा मिलहरुबाट शव जलाउनका लागि दाउरा खरिद गर्नुपर्ने बाध्यता छ । घर निर्माण भने काठकै अभावमा अलपत्र छ । धेरै जना काठको विकल्पमा आल्मुनियमको प्रयोग गरी घर निर्माणमा जुटेका छन् ।

विपन्न परिवारका लागि घरायसी इन्धनका रुपमा प्रयोग हुने दाउरा उपलब्ध नहुँदा साँझ बिहानको खाना पकाउन निकै अप्ठ्यारो परेको छ । “सामुदायिक वनमा दाउरा माग्न जाँदा बन्द भएको कारण दर्शाउँदै फर्काउने गरेका छन्”, उपभोक्ता मीना चौधरीले भन्नुभयो, “दैनिक मजदूरी गरेर जीविका धानिँदै आएकाले ग्यास खरिद गर्न सक्दैनौँ । दाउरा उपलब्ध नहँुदा निकै मर्कामा परेका छौँ ।”

“वन क्षेत्रमा काटिएको काठ दाउरा कुहिएर जान थालेको छ”, वैजनाथ सामुदायिक वनका उपभोक्ता सुशीला धामीले भन्नुभयो, “शव जलाउन, विवाह, ब्रतबन्ध, चाडपर्वलगायत अन्य कार्यका लागि काठ दाउरा खरिद गर्नुपर्ने भएको छ । वनबाट लाभ लिनका लागि संरक्षण गरेका हौँ । वन पैदावार उपभोग गर्न नै नपाइने भएपछि संरक्षण गर्नुको के अर्थ हुन्छ ?”

उपभोक्ताले घरकाज, मु त्यु संस्कार, धार्मिक कार्यलगायतमा काठ दाउराको माग गर्दै आए पनि दिन नसक्दा वन संरक्षणमा उपभोक्ताको धारणा नकारात्मक बन्दै जान थालेको सामुदायिक वनका पदाधिकारीको भनाइ छ । “नियमानुसार काटिएको काठ दाउरा वन क्षेत्रमै अलपत्र छ”, महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले भन्नुभयो, “काठ चोरी हुनबाट रोक्नका लागि दिनरात नभनी वन क्षेत्रमै खटिनुपर्ने अवस्था रहेको छ । काठ दाउरा दिन नसक्दा उपभोक्ता रुष्ट हुन थालेका छन् ।”

प्रकाशित मिति २०७७ मङ्सिर ८ गते सोमबार ०९:२४
प्रतिक्रिया दिनुहोस