पोखरा, २८ चैत /यस वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कार युवा साहित्यकार प्राञ्जललाई प्रदान गरिने भएको छ । गजल सन्ध्या पोखरा तथा नवनीत साहित्य सागरद्वारा संयुक्त रूपमा सञ्चालित अक्षर यात्रामा संलग्न भई साहित्य सिर्जनामा निरन्तर सक्रिय स्रष्टामध्येबाट एकजना स्रष्टालाई यो पुरस्कार प्रदान गरिन्छ ।
साहित्यकार तथा अक्षर यात्राका परिकल्पनाकार लक्ष्मण थापाको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले प्राञ्जललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रतिभा छनोट समितिमा साहित्यकार प्रकट पंगेनी ‘शिव’ दीपक समीप, कपिल शर्मा, गजल संध्याका अध्यक्ष मोहन भण्डारी, सचिव त्रुपक तथा नवनीत साहित्य सागरका अध्यक्ष डिल्लीराम भुषाल सदस्य रहेका थिए ।
गजल सन्ध्या, पोखरा र नवनीत साहित्य सागरद्वारा हरेक महिनाको तेस्रो शनिबार संयुक्त रूपमा आयोजना गरिने ‘अक्षरयात्रा’ कार्यक्रममा निरन्तर सक्रिय स्रष्टामध्येबाट छनोट गरी यो पुरस्कार प्रदान गर्ने गरिन्छ । युवा साहित्यकार द्वय गोविन्द गिरी र कृष्ण देवकोटाले युवा साहित्यकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वि.सं. २०६५ सालमा पुरस्कारको स्थापना गरेका थिए । अक्षरयात्राको १८२ औँ शृङ्खलाको अवसर पारेर आगामी वैशाख तेस्रो शनिबार एक कार्यक्रमबीच सो पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशि नगद रु. ५,५५५।– रहेको छ ।
गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नं. २, पाहाँदी स्थायी घर भएका प्राञ्जल विगत १२ वर्षदेखि पोखरामा रहेर साहित्य सिर्जना तथा रंगमञ्चमा समेत सक्रिय छन् । नेपाली लेखक संघ, ज्ञानोदय पुस्तकालय, मुक्तक मञ्च, साहित्यिक चौतारी नेपाल लगायतका संस्था संग आवद्ध छन् । पेशाले प्रशिक्षक उनी साहित्य सिर्जना, रंगमञ्च तथा सामाजिक काममा सक्रिय छन् । विभिन्न संयुक्त संग्रह तथा पत्रपत्रिकामा उनका दर्जनौँ रचना प्रकाशित छन् ।
‘जीवन र जगतको यथार्थबोधका लागि अक्षरयात्रा’ नारा दिएर प्रत्येक महिनाको तेस्रो शनिबार विभिन्न ठाउँमा गई तद्स्थानीय रचना लेख्ने र सुनाउने यस कार्यक्रमको विशेषता रहेको छ । कोरा कल्पनाभन्दा माथि उठेर यथार्थको निकट रही साहित्य रचना गर्नुपर्छ भन्ने मान्यतालाई यस यात्राले मुख्य रूपमा जोड दिँदै आएको छ । साहित्यिक पर्यटन यसको अर्को मुख्य उद्देश्य रहेको र विविध ठाउँका स्थानीय विशेषतालाई साहित्यिक रचनामा समेटेर प्रचारप्रसारमा समेत टेवा पुर्याउँदै आएको गजल सन्ध्याका अध्यक्ष मोहन भण्डारीले बताए ।
हालसम्म अक्षरयात्रा प्रतिभा पुरस्कारबाट प्रकाश ज्ञवाली, रूपिन्द्र प्रभावी, कपिल शर्मा, सरला लामिछाने ‘सरू’, जीवनसागर भण्डारी, सुरज उपाध्याय तथा सञ्जीव पौडेल पुरस्कृत भइसकेको अक्षर यात्राका परिकल्पनाकार दीपक समीपले जानकारी दिए ।
प्रकाशित मिति २०७७ चैत २९ गते आईतबार ०२:४३