क्षेत्रबहादुर कुँवरको कृति ‘जीवन कथा’ माथि समीक्षा

क्षेत्रबहादुर कुँवरको कृति ‘जीवन कथा’ माथि समीक्षा

सञ्चार बाणी

@SancharBani

२०७७ चैत ७ गते शनिवार ०२:०३

पोखरा, ७ चैत । साहित्यकार तथा शिक्षासेवी क्षेत्रबहादुर कुँवरको जीवनीमा आधारित कृति ‘जीवन कथा’ माथि समीक्षा गरिएको छ ।पोखरामा शनिबार आयोजित कार्यक्रममा वक्ताले ‘जीवन कथा’ स्रष्टा कुँवरको जीवनीमा आधारित भइकन पनि पोखराको पुरानो...

पोखरा, ७ चैत । साहित्यकार तथा शिक्षासेवी क्षेत्रबहादुर कुँवरको जीवनीमा आधारित कृति ‘जीवन कथा’ माथि समीक्षा गरिएको छ ।पोखरामा शनिबार आयोजित कार्यक्रममा वक्ताले ‘जीवन कथा’ स्रष्टा कुँवरको जीवनीमा आधारित भइकन पनि पोखराको पुरानो इतिहास, कला, संस्कृति, रहनसहन जान्न पठनीय रहेको बताए ।

प्रमुख अतिथि शिक्षाविद् टीकाराम कोइरालाले स्रष्टा कुँवर शिक्षा, साहित्य, राजनीतिक, पत्रकारिता लगायत हरेक क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्दै विगतका जीविविषाबारे स्मरण गरे । कृति समीक्षा गर्दै समीक्षक असफल गौतम र कृष्ण उदासीले एक युग बाँचिसकेका क्षेत्रबहादुरको जीवन कथा विभिन्न क्षेत्रबारे जानकारी लिन फलदायी कृति रहेको बताए ।

आयोजक अलौकिक कवि देशभक्तसिंह कुँवर प्रतिष्ठान नेपालका अध्यक्ष प्राडा यमबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ सूर्य खड्का विखर्ची, स्रष्टा क्षेत्रबहादुर कुँवर, वरिष्ठ पत्रकार विश्ववन्धु भण्डारी, संगीतकार बिबि अनुरागी, प्रतिष्ठानका नायक देशभक्तसिंह कुँवर, प्राडा ध्रुवबहादुर अधिकारी, पुस्तक सम्पादकतर्फबाट विजय नेपाल लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मुमताज कुँवर र सञ्चालन सञ्चारकर्मी देवेन्द्र एसकेले गरेका थिए ।

सो अवसरमा एड्स रोग नियन्त्रण संघका अध्यक्ष समाजसेवी विश्वमोहन गौचन र एरेन्जर शुकुराम रसाइलीलाई सम्मान गरिएको थियो । यस्तै, कार्यक्रम सफल पार्न विभिन्न क्षेत्रबाट योगदान दिने व्यक्तिलाई मायाको चिनो प्रदान गरिएको थियो । गत फागुन ४ मा कुँवरको ७५ औं जन्मोत्सव अवसरमा कृति लोकार्पण गरिएको थियो । उनका यसअघि ७ कृति पाठकसमक्ष आएका छन् ।

‘जीवन कथा’ मा उनले विभिन्न घटनाक्रम, विगतको वस्तुस्थिति लगायतबारे झण्डै सय शीर्षकमा मिहिन ढंगले कथा समेटेका छन् । स्रष्टा कुँवरले लकडाउनको समय सदुपयोग आफूले सम्झे जति सम्पूर्ण विषयवस्तु यथार्थ घटनामा आधारित रहेर लेखेको हुँदा सबैको लागि उपयोगी हुने दाबी गरे ।

पत्रकार विजय नेपाल, शिक्षक कमलराज ढुंगाना र अलौकिक कवि देशभक्तसिंह कुँवरले पुस्तक सम्पादन गरेका हुन् । पाखरा वाङ्मय प्रतिष्ठान नेपाल प्रकाशक रहेको कृति फोटो कथासहित ३१० पृष्ठ लामो छ ।

प्रकाशित मिति २०७७ चैत ७ गते शनिवार ०२:०३
प्रतिक्रिया दिनुहोस