नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का आगामी महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा भएका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशनका क्रममा भदौ २१ गते अनुराग क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन।
दाङको लमही नगरपालिका- ८ बाट अनुराग सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधिमा चयन भएको वडा सभापति यादवनाथ योगीले बताए। ‘हाम्रो वडामा सबै सर्वसम्मत रूपमा निर्वाचित भएका हौं,’ योगीले भने, ‘अनुराग मतदान भए पनि मज्जाले जित्नु हुन्थ्यो, अनुराग नआउने कुरै आउँदैन।’
अनुरागले पार्टीको राजनीतिमा आउन चाहना गरेको र अनुरागकै आग्रहअनुसार छलफल गर्दा वडामा कसैले पनि विरोध नजनाएको सभापति योगीले बताए। अनुरागले सबै आकांक्षा व्यक्त गरेर बाबुको बिँडो थाम्छु भन्ने धारणा राख्दै मत मागेको हुँदा क्षेत्रीय प्रतिनिधिमा नाम आउँदा सर्वसम्मत निर्वाचित भएको योगीले बताए।
‘युवा हुन्, पढे-लेखेका छन् र म बाबुको बिँडो थाम्छु मौका दिनुपर्यो भनेपछि नदिने कुरै आउँदैन,’ योगीले भने, ‘सल्लाहले एक पटक हेरौं न त भन्नेमा सबैको एक मत बनेको हो।’ अनुराग साँच्चै रहरले राजनीतिमा आउन थालेका हुन कि हैनन्? उनी पार्टीप्रति र संगठन निर्माणमा बाबुजत्तिकै खरो उत्रन सक्छन् कि सक्दैनन्? त्यसको पुष्टि समयले गर्ने योगीले तर्क गरे।
‘एकजना प्रिय नेता र आदरणीय व्यक्तित्व खुमबहादुरका छोरा भएकै कारणले गर्दा पनि अनुरागप्रति सबैको सहानुभूति भयो छ र त्यो स्वभाविक पनि हो,’ सभापति योगीले भने, ‘खुमबहादुर जत्तिको प्रभावशाली नेता अब सायदै हाम्रो ठाउँले कहिलै जन्माउने छ।’
अनुरागलाई बुवाले निर्माण गरेको बिरासतकै कारण राजनीति गर्न धेरै सजिलो रहेको भए पनि उनी भविष्यमा कसरी अगाडि बढ्छन् भन्ने महत्वपूर्ण कुरा भएको उनले बताए। ‘अनुराग सरल र सहज छन्,’ योगीले भने, ‘अग्रज नेता-कार्यकर्ताप्रति उनले गर्ने आदर व्यवहार सधैंभरि यस्तै भए उनी राम्रो नेता बन्न सक्छन्।’
अनुरागको पुर्ख्यौली घर लमही नगरपालिकाको वडा नम्बर ८ गोझेनामा छ। द्वन्द्वका क्रममा उनको घरमा माओवादीले बम बिस्फोट गराएपछि उनीहरू त्यहाँ बस्न छोडेका थिए। दुई वर्षअगाडि अनुरागले दाङबाटै राजनीति गर्ने भनेर फेरि सोही ठाउँमा घर बनाएका छन्।
दाङ आउँदा उनी त्यही घरमा बस्छन्। खुमबहादुरकी श्रीमती तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शिला खड्का र छोरा अनुराग गोझेनास्थित घरमा आवत-जावत गर्ने तथा स्थानीयसँग राजनीतिक भेटघाट गर्ने क्रम बढाउँदै लगेको वडा सभापति योगीले बताए।
२७ वर्षीय अनुराग खुमबहादुरका एक्ला छोरा हुन। उनले बेलायतमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। १४ औं महाधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बनेका प्रताप खड्काका अनुसार अनुराग अब महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्न चाहन्छन्।
‘मेरो काकाको छोरा भाइ अनुरागले अब महाधिवेशनमा लड्ने योजना बनाएको छ,’ प्रतापले भने, ‘त्यो परिणाम कस्तो आउँछ र नेताहरूले के भन्नुहुन्छ। त्यही आधारमा थप योजना बनाउँछ।’ केही समयअघि कुराकानी गर्दै अनुरागले बुवालाई सर्वसाधारणले गरेको विश्वास र माया देखेर राजनीतिमा आउन थालेको बताएका थिए।
‘म सानैदेखि राजनीतिक परिवेशमा हुर्कें, बढें। हाम्रा घरमा जहिलै नेता-कार्यकर्ता भरीभराउ हुन्थे,’ अनुरागले भनेका थिए, ‘बुवाप्रतिको त्यो अगाध सम्मान र माया बर्करार राख्न तथा उहाँका अधुरा राजनीतिक सपना पूरा गर्न म राजनीतिमा प्रवेश गरेका हुँ।’
तीन वर्षअघि बुवाको मृत्युपछि १३औं दिनका दिन आयोजित श्रद्धाञ्जली सभामा अनुरागले लन्डनमा जागिरको अफर हुँदाहुँदै आफू बुवासँगै हिँड्नका लागि नेपाल फर्किएको बताएका थिए।
‘म सानैदेखि राजनीतिक परिवेशमा हुर्किएँ। पढाइका क्रममा कहिले भारत र कहिले लन्डनमा पुगे,’ अनुरागले भनेका थिए, ‘मलाई बुवाले पढाइ पूरा गरेपछि सँगै जिल्ला घुमाउँछु भन्नुभएको थियो। दुर्भाग्य त्यही बेला बुवा सधैँका लागि बिदा हुनुभयो।’
अनुरागले आफ्ना बुवालाई माया गर्नेहरूले आफूलाई पनि त्यही रूपमा माया र विश्वास गर्ने आशा गरेका छन्।
यसै महाधिवेशनबाट नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि कांग्रेस राजनीतिमा आएका छन्। उनले डडेल्धुराबाट कांग्रेस क्रियाशील सदस्यता लिएका छन्।
प्रकाशित मिति २०७८ भदौ २४ गते बिहिबार ०४:०१