राजपरिवारको सदस्यता त्यागेर प्रेमीसँग विवाह गर्दै जापानी राजकुमारी

राजपरिवारको सदस्यता त्यागेर प्रेमीसँग विवाह गर्दै जापानी राजकुमारी

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १५ गते शुक्रबार ०४:०३

जापानी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छन्। अक्टोबर २६ मा उनीहरूले बिहे गर्न लागेको सिएनएनले लेखेको छ। माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण सरहका व्यक्ति केइ कोमुरोसँग विवाह घोषणा...

जापानी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छन्। अक्टोबर २६ मा उनीहरूले बिहे गर्न लागेको सिएनएनले लेखेको छ। माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण सरहका व्यक्ति केइ कोमुरोसँग विवाह घोषणा गरेकी थिइन्। विभिन्न कारणवश उनीहरूको बिहे धकेलिँदै आएको थियो।

कोमुरोसँग विवाहलगत्तै माकोले ‘राजकुमारी’ को उपाधि त्याग्नु पर्ने हुन्छ। राजपरिवारको सहमति पश्चात राजपरिवार बाहिरका कोमुरोसँग माकोको विवाह हुने भएको हो। सिएनएनका अनुसार कोमुरो अमेरिका, न्युयोर्कमा वकिल छन्। माको र उनी बिहेपछि अमेरिका नै सर्ने कुरा छ।

राजकुमारी माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो सन्तान हुन्। विद्यावारिधि गरिरहेकी उनी संग्रहालय अनुसन्धानकर्ताको रूपमा काम पनि गर्दैछिन्।

जापानमा राजपरिवारका सदस्यले सर्वसाधारणसँग विवाह गर्दा महिला र पुरुषलाई भेदभावपूर्ण नियम छ। महिलाले आफ्नो राजकीय उपाधि त्याग्नुपर्छ भने पुरुषले पर्दैन। यसै कानुनमा रहेर माकोले आफ्नो उपाधि त्याग्दै कोमुरोसँग विवाह घोषणा गरेकी हुन्। माको र कोमुरो दुवै २९ वर्षका छन्। उनीहरूको सन् २०१२ मा विश्वविद्यालयमा भेट भएको थियो।

कोमुरोसँग पहिलो भेटमै आकर्षित भएको भन्दै माकोले विवाहको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘उनी सूर्यजस्तै मुस्काउँछन्, चम्किला। मलाई सानैदेखि थाहा थियो, मैले गैर राजकीय व्यक्तिसँग विहे गरेँ भने उपाधि गुमाउँछु। यी सबै छाडेर म विवाह गर्दैछु।’

कोमुरोले पनि राजकुमारी माकोलाई हेर्दै भनेका थिए, ‘उनलाई म चन्द्रमा जस्तो हेरिरहन्थेँ, हेरिरहन्छु।’

प्रकाशित मिति २०७८ असोज १५ गते शुक्रबार ०४:०३
प्रतिक्रिया दिनुहोस