शाकाहारीका लागि पनिर पहिलो रोजाइमा पर्छ। दूधबाट तयार हुने पनिरबाट विभिन्न परिकार बनाउन सकिन्छ। पनिरबाट पालक पनिर, मटर मनिर, शाही पनिर, पनिर मम, पनिर पकौडालगायत स्वादिष्ट परिकार बनाउन सकिन्छ।
हिजोआज भोजभतेरमा प्रायः पनिरका परिकार छुटेका हुँदैनन्। यो स्वादिष्ट र स्वास्थ्यवर्धकसमेत भएकाले मांसाहारी र शाकाहारी दुवैले मन पराउँछन्। पनिरका जुनसुकै परिकार पनि सजिलैसँग पकाउन सकिन्छ। थोरै मात्र मेहनत गरे पनिरका परिकार आफ्नै भान्सामा तयार गर्न सकिन्छ। पनिर खानैका लागि कुनै होटल वा रेस्टुरेन्ट धाउनु पर्दैन।

कसरी बनाउने शाही पनिर
आवश्यक सामग्री
पनिर – ३०० ग्राम / प्याज – २५० ग्राम / काजु – १०० ग्राम / अलैंची – चार टुक्रा / हरियो खुर्सानी – दुईवटा / तेजपत्ता – दुईचार पात / घिउ – ५० ग्राम / लसुन, अदुवाको पेस्ट – ५० ग्राम / दही – १०० ग्राम/ मरीचको पाउडर – ५० ग्राम / नुन – स्वादअनुसार
पकाउने विधि
सबैभन्दा पहिले पनिरलाई एउटै आकारमा ससाना टुक्रा पारेर का’ट्ने। पनिरलाई हल्का रातो हुने गरी तेलमा फ्राई गर्ने। त्यसपछि थोरै पानीमा तेजपत्ता उमालेर रस बनाउने। कराईमा घिउ तातेपछि मसिनो गरी काटिएको प्याज राखेर हल्का खैरो हुने गरी भुट्ने। त्यसमा लसुन र अदुवाको पेस्ट पनि राख्ने।
यसलाई दुई मिनेट जति पकाउने। त्यसपछि दही राखेर राम्रोसँग चलाउने। यसलाई फेरि पाँच मिनेट सम्म पकाउने। यसरी पाकेको लेदोमा मरीचको पाउडर, स्वादअनुसार नुन, पनिरको टुक्रा राख्ने। केही बेर पाकिसकेपछि पनिर पस्किने समयमा क्रिम, बदाम, काजुको टुक्रा राखेर सर्भ गर्न सकिन्छ।
प्रकाशित मिति २०७८ असोज १५ गते शुक्रबार ०३:२६