एकल बुवाका भाग्यमानी सन्तान

एकल बुवाका भाग्यमानी सन्तान

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २८ गते सोमबार ०७:२०

एकल आमा होउन् वा बुवा सन्तान हुर्काउन सोचेजस्तो सजिलो छैन । आमाहरूका लागि त यो काम केही सहज हुन सक्ला । तर, एकल बुवाका रूपमा सन्तान हुर्काउनु चुनौतीपूर्ण हुन्छ । आफ्ना सन्तानप्रतिको जिम्मेवारी पूरा गर्नु र सुन्दर भविष्यको निर्माणमा...

एकल आमा होउन् वा बुवा सन्तान हुर्काउन सोचेजस्तो सजिलो छैन । आमाहरूका लागि त यो काम केही सहज हुन सक्ला । तर, एकल बुवाका रूपमा सन्तान हुर्काउनु चुनौतीपूर्ण हुन्छ ।

आफ्ना सन्तानप्रतिको जिम्मेवारी पूरा गर्नु र सुन्दर भविष्यको निर्माणमा योगदान गर्नु एकल बुवाहरूका लागि धेरै संघर्षपूर्ण पनि छ । अर्को कुरा, एकल रूपमा बच्चा हुर्काउँदा बुवाहरूको करियरमा बाधासमेत पुग्न सक्छ । त्यसैले धेरै बुवाले प्रायः यो चुनौती लिन चाहँदैनन् ।

केहीले बीचमै विवाह गर्छन् भने केहीले आफ्ना सन्तानका भविष्यकै लागि अर्को विवाह नगरीकनै एकल बस्छन् । यस्ता एकल बुवा बच्चा हुर्काउन र उनीहरूका गतिविधि नजिकबाट नियाल्न पाउँदा गर्व पनि गर्छन् । यहाँ एकल बुवाका रूपमा बच्चाको अभिभावकत्व लिनेहरूको चर्चा गरिएको छ ।

‘बुवाको साथ पाउँदा गर्व लाग्छ’सागर केसी (बुवा), सृष्टि र दृष्टि दाहाल केसी (छोरीहरू)-‘एउटी आमा बुवाको पनि भूमिका निर्वाह गर्न सक्छिन् तर एउटा बुवालाई आमाको जस्तो भूमिका निर्वाह गर्न गाह्रो हुन्छ’ ललितपुरस्थित हात्तीवनका सागर केसीको भनाइ हो ।

बुवाले सन्तानलाई जतिसुकै गरे पनि आमाको माया र ममता दिन नसक्ने राजनीतिकर्मी सागर बताउँछन् । यो उनको आनै जीवनको भोगाइ पनि हो । आठ वर्षअघि श्रीमतीको निधनपछि छोरी सृष्टि र दृष्टिको जिम्मेवारी सम्हाल्दा उनले यस्तै अनुभव गरेका छन् ।

बुवाले सन्तानहरूका हरेक कुरा पूरा गर्दा पनि आमाको जस्तो वातावरण दिन नसक्ने उनी बताउँछन् । जन्म दिने आमाको ठाउँ कसैले पनि लिन नसक्ने उनको भनाइ छ । सृष्टि दाहाल केसीलाई बुवाले हरेक कुरा पुर्‍याउँदा–पुर्‍याउँदै पनि आमाको अभाव सधै महसुस भइरहन्छ ।

बुवाले छोरीहरूको खुसी र इच्छालाई कहिल्यै मर्न दिएका छैनन् । छोरीहरूलाई अवसर दिन कुनै कसर बाँकी राखेनन् । छोरीहरूको शिक्षा र स्वास्थ्य उनको पहिलो प्राथमिकता छ । छोरीहरू सफल बन्न शिक्षा र स्वास्थ्यमा ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘मैले छोरीहरूको शिक्षा र स्वास्थ्यमा कहिल्यै सम्झौता गर्दिन, शिक्षा र स्वास्थ्य राम्रो भए व्यक्ति सफल हुन्छ भन्ने मेरो मान्यता छ’ सागरले भने ।

सृष्टि र दृष्टि बुवाकै साथ र सल्लाहमा अघि बढिरहेका छन् । सागर कहिले आमाजस्तै बन्छन् त कहिले बुवाको जस्तै भूमिका निर्वाह गर्ने भएर छोरीहरूले पनि उनीमै ‘आमा र बुवा’ दुवै देख्छन् । बुवाबाट दुवै जिम्मेवारी निर्वाह गरेको पाउँदा छोरीहरूलाई सहज महसुस हुन्छ ।

सागरको दिनचर्या व्यस्त हुने भए पनि उनी छोरीहरूका लागि समय छुट्याएकै हुन्छन् । छोरीहरूका लागि घरको कामदेखि बाहिरको जिम्मेवारी निर्वाह गरेको देख्दा सृष्टिले बुवालाई आदर्श पुरुषका रूपमा लिन्छिन् । सागर घरको काम गर्न कहिल्यै हिचकिचाउँदैनन् । छोरीहरूलाई मन पर्ने परिकार पकाउन भान्सामा पुगेर उनीहरूसँग समय बिताइरहेका हुन्छन् ।

प्रकाशित मिति २०७८ भदौ २८ गते सोमबार ०७:२०
प्रतिक्रिया दिनुहोस