सेलेना गोमेज भन्छिन सामाजिक सञ्जालबाट बाहिरिएपछि मानसिक रूपमा स्वस्थ छु

सेलेना गोमेज भन्छिन सामाजिक सञ्जालबाट बाहिरिएपछि मानसिक रूपमा स्वस्थ छु

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १९ गते शनिवार ०३:४८

हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेजले आफ्नो मानसिक स्वास्थ्यको राज खुलाएकी छिन्। २९ वर्षीया गायिकाले सामाजिक सञ्जालबाट बाहिर रहनु नै आफ्नो मानसिक स्वास्थ्यको राज रहेको बताएकी हुन्। ‘मेरो मानसिक बिमारीसहित ल्युपस, मिर्गौला...

हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेजले आफ्नो मानसिक स्वास्थ्यको राज खुलाएकी छिन्। २९ वर्षीया गायिकाले सामाजिक सञ्जालबाट बाहिर रहनु नै आफ्नो मानसिक स्वास्थ्यको राज रहेको बताएकी हुन्।

‘मेरो मानसिक बिमारीसहित ल्युपस, मिर्गौला प्रत्यारोपण, केमोथेरापी यी सबै कारणले मैले अहिलेसम्म हार मानिसकेकी हुने थिएँ होला,’ एक म्यागजिनसँग कुरा गर्दै उनले भनिन्, ‘जब म यस्ता समस्यासँग जुधिरहेकी हुन्थेँ, हरेकपटक सोच्थेँ कि अझै मैले के सामना गर्न बाँकी छ ?’

पहिले आफू सामाजिक सञ्जालमा घन्टाैँ हराउने गरेको भन्दै उनले अहिले आफूले सूचना प्राप्त गर्ने सही तरिकाबारे जानेको उल्लेख गरेकी छिन्। ‘जब मेरा साथीहरू केही विषयमा कुरा गर्न चाहन्छन्, उनीहरू मलाई फोन गर्छन्। उनीहरू मलाई मेरो पोस्ट हेर्‍यौ भनेर सोध्दैनन्,’ गोमेजले भनिन्।

सन् २०१४ मा गोमेजलाई ल्युपस रोग लागेको पाइएको थियो। यो रोगले छाला, जोर्नी, मिर्गौला, रक्तकोष, मुटु र फोक्सोमा असर गर्छ। त्यसको चार वर्षपछि सन् २०१८ देखि उनले बाइपोलार डिसअर्डरको समेत उपचार सुरु गर्नुपर्‍याे। यस क्रममा आफ्नोबारेमा ट्याबलोइड र अनलाइन पत्रिकाहरूले बनाएको भाष्यबाट निकै आजित भएको बताएकी छिन्। उनले भनिन्, ‘पछि मैले पाएको यही मञ्चको उपयोग गरेर मानसिक स्वास्थ्यसम्बन्धी समस्यामा भएकाहरूलाई सहयोग गर्न सक्छु भन्ने कुरा महसुस गरेँ।’

उनले इन्स्टाग्राम र ट्विटरमा युवाहरूलाई प्रोत्साहन हुने विषयलाई बढावा दिँदै आएकी छिन्। यद्यपि, उनी आफैँले भने सामाजिक सञ्जाल चलाउँदिनन्। उनका सहयोगीहरूले उनको स्वीकृतिमा उनका विचार र तस्बिरहरू सार्वजनिक गरिदिने गर्छन्।

प्रकाशित मिति २०७८ भदौ १९ गते शनिवार ०३:४८
प्रतिक्रिया दिनुहोस