पोखरा, १७ असार । मेघा एफएमका प्रबन्ध निर्देशक अलौकिक कवि देशभक्तसिंह कुँवरलाई थप उपचारार्थ हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । कोरोना संक्रमित उनको स्वास्थ्यमा जटिल अवस्था आएपछि बुधबार दिउँसो हेलिकोप्टरमार्फत ग्राण्डी हस्पिटल लगिएको हो ।
पोखरा–१४, मझेरीपाटन निवासी उनलाई गत अघिल्लो साता कोरोना पुष्टि भएको थियो । सुरुवातमा ५ दिनसम्म होम आइसोलसन बसेका कुँवरलाई श्वासप्रश्वासमा समस्या हुँदा आइतबार गण्डकी मेडिकल कलेज (जिएमसी) भर्ना गरिएको थियो ।
श्वासप्रश्वासमा समस्यासहित निमोनियाले च्यापेपछि थप उपचारार्थ काठमाडौं लगिएको उनका भाइ पृथ्वी कुँवरले जानकारी दिए ।
साहित्यकार एवं कलाकार कुँवरका पछिल्लो ३ वर्षयता १० कृति पाठकसमक्ष आइसकेका छन् ।
बहुआयायिमक व्यक्तित्व कुँवर एक कुशल सञ्चारकर्मी, मोडल, नायक, गायक, संगीतकार, रचनाकार, निर्देशक पनि हुन् ।
प्रकाशित मिति २०७८ असार १७ गते बिहिबार ०१:३६