१३ वर्षीय बालिकाको पेटमा बलात्कारको गर्भ, छोरीलाई विराटनगर छाडेर भारत भागे बुबा

१३ वर्षीय बालिकाको पेटमा बलात्कारको गर्भ, छोरीलाई विराटनगर छाडेर भारत भागे बुबा

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण ७ गते शुक्रबार १२:०८

विराटनगर / १३ वर्षीय गर्भवती छोरीलाई विराटनगरमा छाडेर भारतीय नागरिक भागेका छन् । सानिमाको घर जाने भन्दै विराटनगर ल्याएर भारत सीतामढीका नागेन्द्र साह भागेका हुन् । २९ माघमा उनले सात महिनाकी गर्भवती छोरीलाई सुनसरीको भाण्टाबारी...

विराटनगर / १३ वर्षीय गर्भवती छोरीलाई विराटनगरमा छाडेर भारतीय नागरिक भागेका छन् । सानिमाको घर जाने भन्दै विराटनगर ल्याएर भारत सीतामढीका नागेन्द्र साह भागेका हुन् ।

२९ माघमा उनले सात महिनाकी गर्भवती छोरीलाई सुनसरीको भाण्टाबारी हुँदै विराटनगर ल्याएका थिए । छोरी जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि छाडेर नागेन्द्र भागेका हुन् ।

प्रशासन कार्यालयअगाडि रोएर बसिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बालिकालाई एबिसी नेपाल विराटनगरको जिम्मा लगाएको छ ।

एबिसी नेपालमा रहेका बेला बिरामी भएपछि कोसी अस्पतालमा स्वास्थ्य जाँच गर्दा गर्भ रहेको खुलेको थियो । ‘बालिकाको पेटमा २८ हप्ताको गर्भ छ,’ एबिसी नेपाल विराटनगरकी प्रमुख विष्णु शर्मा पन्तले भनिन्, ‘बुबाले सानिमाको जाने भन्दै ल्याएर विराटनगरमा छाडेर घर फर्किए, लिन बोलाउदा आएका छैनन् ।’

उनका अनुसार भाउजुका भाइले करणी गरेपछि बालिकाको गर्भ रहेको थियो । बलात्कारको गर्भपतन गर्न सक्ने अवस्थामा नरहेको उनले बताइन् । ‘बच्चाको तौल एक किलोमात्रै रहेछ, बालिकाको स्वास्थ्य पनि कमजोर छ,’ उनले भनिन्, ‘हामीले भारतमा नै पुनस्र्थापना गर्ने तयारी गरिरहेका छौँ ।’

जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा भारतमा नै बालिकालाई फर्काउने तयारी भएको बताइन् । छोरीलाई छाडेर गएका बाबु पहिचान भए पनि लिन भने नआएको उनले बताइन् ।

इज्जत जाने भन्दै बुबा छोरी लिन नआएका हुन् । ‘बालिकाको लुगा सबै झोलामा हालेर ल्याएका रहेछन्,’ उनले भनिन्, ‘बुबाले छाडेर भागेका हुन् भन्नेमा छोरीलाई जानकारी छैन ।’ उद्दार गर्नुअघि बालिका दिनभर जिल्ला प्रशासन कार्यालयअगाडि रुँदै बसेकी थिइन् । एबिसीले धनुषा प्रहरीलाई बालिकाको जिम्मा लगाउने र प्रहरीले भारतीय प्रहरीको जिम्मा लगाउने उनले बताइन् ।
स्रोत:कोशि अनलाईन

प्रकाशित मिति २०७७ फाल्गुण ७ गते शुक्रबार १२:०८
प्रतिक्रिया दिनुहोस