भागरथी भट्टको बलात्कार-हत्यामा संलग्न व्यक्ति पक्राउ,आज सार्वजनिक गरीदै: प्रहरी

भागरथी भट्टको बलात्कार-हत्यामा संलग्न व्यक्ति पक्राउ,आज सार्वजनिक गरीदै: प्रहरी

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण ५ गते बुधबार ०२:३२

बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भागरथी भट्टकै छिमेकी बैतडी दोगडाकेदार गाउँपालिका-७ का एक युवा रहेको प्रहरीले जनाएको छ। ‘भागरथी हत्याका एक अभियुक्त पक्राउ परिसकेका...

बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भागरथी भट्टकै छिमेकी बैतडी दोगडाकेदार गाउँपालिका-७ का एक युवा रहेको प्रहरीले जनाएको छ।
‘भागरथी हत्याका एक अभियुक्त पक्राउ परिसकेका छन्, ती अभियुक्त नै भागरथीको बलात्कारमा संलग्न छन्,’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘हामी भोलि पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गर्दैछौं।’

पक्राउ परेका व्यक्ति भागरथीसँगै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थी रहेको एसएसपी सिंहले जानकारी दिए। उनका अनुसार, ती व्यक्तिले ‘रिसिइबी’ का कारण भागरथीको बलात्कार र हत्या गरेको भनी बयान दिएका छन्। उनी अहिले जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा छन्।

भट्टको गत माघ २१ गते बुधबार दिउँसो हत्या भएको थियो।
‘हामीले केही व्यक्तिलाई निगरानीमा राखेका थियौं, तीमध्ये भागरथीकै छिमेकी युवाले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्,’ एसएसपी सिंहले भने, ‘भागरथीको हत्यामा ती व्यक्ति शतप्रतिशत संलग्न भएको प्रमाण प्रहरीले भेटेको छ।’

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तम सुवेदीले पनि भागरथी बलात्कार-हत्यामा संलग्न व्यक्ति पक्राउ परिसकेको बताए।

ती व्यक्तिको नाम बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उनले जानकारी दिए। डिआइजी सुवेदी भागरथीको बलात्कार र हत्यापछि अनुसन्धानका लागि १० दिनदेखि बैतडीमा थिए।

प्रकाशित मिति २०७७ फाल्गुण ५ गते बुधबार ०२:३२
प्रतिक्रिया दिनुहोस