जब कसैसँग भेट हुन्छ, हामी दुई हात जोडेर नमस्कार गर्छौ । आफन्त, चिनेजानेका, इष्टमित्र, गुरु, अतिथि जो कोहिलाई पहिलो भेटमा नमस्ते गर्छौ । किन ? नमस्ते गर्नु केवल परम्पराको निरन्तरता मात्र हो कि, अरुपनि ? नमस्ते किन गरिएको हो ? यसको अर्थ के छ ?
नमस्ते गर्नु हाम्रो संस्कार हो । र, यो संस्कारको विकास स्वास्थ्य र मनसँग जोडिएको छ । किनभने कसैप्रति हार्दिकतापूर्वक नमस्कार गर्दा हाम्रो स्वास्थ्यमा फाइदा पुग्छ ।
के छ फाइदा ?
नमस्कार गर्नु यौगिक क्रिया पनि हो । दुई हात जोडेर नमस्कार गर्नुको बैज्ञानिक महत्व छ । नमस्कार गर्दा दुई हात जोडेर हातलाई छातीको अघिल्तिर राखिन्छ । आँखा बन्द गरिन्छ र शिर झुकाइन्छ ।
हाम्रो हातको तन्तु मस्तिष्कको तन्तुसँग जोडिएको हुन्छ । जब नमस्कार गर्छौ, हातका औंलाहरु आपसमा जोडिन्छन् । यसले हृदयचक्र र आज्ञा चक्र सक्रिय हुन्छ । यसले जागरण बढ्छ । उक्त जागरणले मनमा शान्त र चित्तमा प्रशन्नता आउँछ ।
। नमस्कार गर्दा पाचन यन्त्रलाई पनि फाइदा पुग्ने बताइन्छ । दुई हात जोडेर नमस्कार गर्दा यस किसिमको शारीरिक व्यायाम हुन्छ, जसले पाचन यन्त्रमा प्रभाव पर्छ ।हात जोड्दा शरीरको रक्त संचार प्रवाह हुन्छ ।

मनोवैज्ञानिक फाइदा
नमस्कार गर्नु मनोवैज्ञानिक पद्धती पनि हो । हात जोडेर तपाई कडा वा क्रोधित रुपमा बोल्न सक्नुहुन्न । किनभे नमस्कार गर्दा हाम्रो अहंकार नष्ट हुन्छ । विनय गुण नम्रता विकास हुन्छ । मन शुद्ध हुन्छ ।
आध्यात्मिक महत्व
दायाँ हात आचार अर्थात धर्म र वायाँ हात बिचार अर्थात दर्शनको हुन्छ । नमस्कार गर्दा दायाँ र वायाँ हात जोडिन्छ । यसले आध्यात्मिक लाभ मिल्छ ।
मानव शरीरको एक भागमा सकारात्मक र अर्को भागमा नकारात्मक उर्जा हुन्छ । दुबै हात जोड्दा सकारात्मक उर्जा प्रवाह हुन्छ । कसैलाई प्रणाम गरेपछि आर्शिवाद प्राप्त हुन्छ, यसले उसमा आध्यात्मिक विकास हुन्छ ।
नमस्कार तीन प्रकारको हुन्छ

१. सामान्य नमास्कार
२. पद नमस्कार
३. साष्टांग नमस्कार
सामन्य नमस्कार- कुनै व्यक्तिलाई भेट्दा हामी दुई हात जोडेर नमस्कार गर्छौ । नमस्कार गर्दा दुबै हात जोडेर, गर्दन हल्लाएर नमस्कार गर्नुपर्छ । यसले गर्दा जसलाई हामी नमस्कार गर्छौ, उनमा राम्रो भावना विकास हुन्छ । नमस्कार गर्दा दुई सेकेन्डका लागि आँखा बन्द गर्नुपर्छ । यसले आँखा र मन रिप्रेश हुन्छ ।
पद नमस्कार- यस अन्र्तगत हामी आफ्नो परिवार, कुटुम्ब, बुढापाका, आमाबुवाको खुट्टा छोएर नमस्कार गर्छौ । अक्सर यस किसिमको नमस्कार गर्दा आफुले श्रद्धा गर्ने व्यक्तिलाई मात्र गर्नुपर्छ । नचिनेका व्यक्तिलाई यस्तो नमस्कार गर्नु हुँदैन ।
साष्टाङ्ग नमस्कार-यसलाई दन्डवत प्रणाम पनि भनिन्छ । यो नमस्कार केवल मन्दिरमा गरिन्छ । मन्दिरमा साष्टाङ्ग नमस्कार गर्दा खुट्टामा जुत्ता, चप्पल हुनुहुँदैन । यो नमस्कार गर्दा पुरुषले शीर ढाक्नु हुँदैन । तर, महिलाले शीर ढाक्नुपर्छ ।
सम्भन्धित खवर पढ्नुहाेस
नमस्कार नै किन ?

हामी आदरणीयहरूलाई नमस्कार मुद्रामा प्रणाम गर्छौं । विभिन्न संस्कारमध्ये नमस्कार गर्नु एउटा संस्कार हो । नमस्कार एउटा यौगिक प्रक्रिया पनि हो । नमस्ते, नमस्कार, प्रणाम हाम्रो परम्रागत अभिवादन शैली हो । हामी कसैसँग भेट हुँदा दुई हात जोडेर नमस्कार गर्छौं । नमस्ते भन्छौँ । यसो गर्दा माया, ममता र सम्मान सबै पुग्छ । शिष्टाचारको पालन हुन्छ । हाम्रो शारीरिक मानसिक स्वास्थ्यलाई फाइदा पुग्छ ।
हाम्रा पूर्वजले चलाएका चलन कति वैज्ञानिक छन् र हानिरहित छन्, अहिले आएर प्रमाणित हुन थालेको छ । अहिले कोरोनाको प्रकोपले गर्दा एकआपसमा हात मिलाउन नहुने भएपछि देश, विदेशमा अभिवादनको समस्या देखिएको छ । हात मिलाउन, अँगालो हाल्नु हानिकारक छ । मुख मिलाउनु अर्थात् चुम्बन गर्नु अझ हानिकारक छ । अब अभिवादन कसरी गर्ने ? कतै मानिस गोडा मिलाउन थालेको सामाजिक सञ्जालमा देखिन्छ । दृश्य अनुभूति कुनै पनि सजिलो र स्वाभाविक छैन ।
अहिले सबैले नमस्ते अर्थात् नमस्कारको महत्वबोध गर्नुपर्ने बेला आएको छ । नमस्कार नै अभिवादनको सर्वोत्तम प्रणाली हो । नमस्कार ! आपसी अभिवादनको सुन्दर र हानिरहित प्रणाली मात्र होइन । नमस्कार गर्नुका अतिरिक्त फाइदा पनि छन् । रोग सर्ने डर छैन, अभिवादन पनि भव्य बन्छ । संसारका सबैले नमस्कारलाई नै अभिवादनको शैलीका रूपमा स्वीकार गर्नुपर्ने अवस्था आज देखिएको छ । हाम्रा पूर्वजले नमस्कारलाई अभिवादनका रूपमा चलनमा ल्याउनुका थुप्रै कारण छन् ।
हाम्रा धर्म संस्कृतिमा मानिसको संस्कार तथा व्यक्तित्व निर्माणका प्रयासका साथै स्वास्थ्य रक्षासँग सम्बन्धित नियम पनि समावेश गरिएका छन् । बिहान उठेर गरिने सूर्य नमस्कारमा मात्र पनि हामी शालीनता योग र मुद्रा जस्ता मानसिक, शारीरिक स्वास्थ्य निर्माणमा अनेकौँ उद्देश्य समाविष्ट रहेका पाउन सक्छौँ । पतञ्जलिको योग सूत्रमा सूर्य नमस्कार नामक एउटा छुट्टै योगविधि पनि छ जो यौगिक क्रियाको सरल र सर्वोत्तम सङ्कलन पनि हो । मान्यजनलाई हात जोडेर नमस्कार, प्रणाम गर्ने चलन हाम्रो समाजमा सनातनदेखिकै परम्परा हो । सामाजिक सांस्कृतिक महत्वका साथै योग वैज्ञानिक महत्व पनि हुनु यसको थप विशेषता हो ।
हाम्रा हातमा/हत्केलामा शरीरको स्वास्थ्योपचारका अनेकौँ महत्वपूर्ण बिन्दु छन् । हत्केलाका औँलाहरूमै पनि एक्युपे्रसरका विभिन्न बिन्दु छन् । नमस्कार गर्दा ती सबै बिन्दु दबिन्छन् । यसरी दबाब दिने पद्धतिलाई एक्युप्रेसर भनिन्छ । अझ सुजोक चिकित्साविधिमा यसको सूक्ष्म अध्ययन र प्रयोग पाइन्छ । वैदिक मर्मचिकित्साबाट विकसित यी विधि विश्वमा सर्वसम्मत नै बनिसकेका छन् । एक्युप्रेसर चिकित्साको परिप्रेक्ष्यमा हेर्दा नमस्कार पनि यसको एउटा समवेत रूपमा चल्तीमा ल्याएको संर्किषप्त पद्धतिका रूपमा देखापर्छ । मुद्रा योगका दृष्टिले पनि नमस्कारको छुट्टै महत्व छ । हामी हाम्रा मन्दिरहरूमा नमस्कार मुद्रामा रहेका कति मूर्तिहरू देख्छौँ । यसको अन्तर्यमा नमस्कारको सर्वतोमुखी महत्वबोधले काम गरेको छ ।

यौगिक उपचार विधिका दृष्टिले नमस्कारले हाम्रो दिमागको दुवै भागलाई सन्तुलित बनाउन मद्दत मिल्छ । मनमा शान्त र चित्तमा एकाग्रता आउँछ । तनाव, अवसाद आदि रोग हटाउँछ । रक्त सञ्चारलाई नियमित बनाउँछ र नाडी संस्थानलाई स्वस्थ बनाउँछ । भजन कीर्तन गर्दा पनि हामी दुवै हत्केला बारम्बार जोड्छौँ र आवाज निकाल्छौँ । यसमा आवाजको महत्व आफ्नै छ । यो एक किसिमको हाते सङ्गीत पनि हो । यसरी हात पड्काउँदा नमस्कार मुद्रामा जोडिँदा सक्रिय रूपमा मुद्रा र एक्युप्रेसरको काम पनि भइरहेको हुन्छ । यसरी भजन कीर्तनका साथमा निश्चित लयमा हात पड्काउनु पनि धार्मिक सांस्कृतिक दृष्टिले समेत महत्वपूर्ण मानिएको छ ।
नमस्तेलाई अञ्जली मुद्रा पनि भनिन्छ । ज्ञान मुद्रा, वायु मुद्रा, प्राण मुद्रा, सूर्य मुद्रा, अपान मुद्रा आदि विभिन्न मुद्राको आ–आफ्नै फाइदा छन् । मुद्रा शरीरको ऊर्जा जगाउने स्वीच बोर्ड हो । मुद्राले चक्रलाई सशक्त बनाउँछ, ब्युँझाउँछ । शारीरिक, मानसिक र आध्यात्मिक शक्ति बढाउँछ । मुद्राले त्रिदोष अर्थात् कफदोष, वातदोष र पित्तदोषलाई शमन गर्छ र यिनका बीचमा सन्तुलन कायम गर्छ । दुवै हात जोडेर छाती अगाडि राखेर नमस्कार गर्नुले हृदय चक्रलाई सशक्त बनाउँछ । हामी मान्यजनका अगाडि झुकेर नमस्कार गर्छौं । भगवान्को अगाडि पनि शिर झुकाएर नमस्कार गर्छौं । दुई हातका हत्केला जोडर शिर निहुराउनु नै नमस्कार हो । नमस्कार गर्दा निधारको आज्ञाचक्रमा छुवाएर ग¥यौँ भने हाम्रो आज्ञाचक्रमा सक्रियता बढ्छ । एकाग्रता बढ्छ ।
हात जोडेर हामी कराउन सक्दैनौँ, रिसाउन सक्दैनौं, भाग्न सक्दैनौँ । यसकारण नमस्ते एउटा आत्म नियन्त्रणको मुद्रा पनि हो । विनम्रताको मुद्रा पनि हो । नमस्कार गर्दा हाम्रो विनम्रताले अगाडिको व्यक्ति प्रभावित हुन्छ । नमस्कारको अर्थमै यो कुरा झल्केको छ । ‘म नमन गर्छु । म तपाईंको अगाडि सम्मानको साथ झुकिरहेको छु’ यस्तो अर्थ हो । साथीभाइ, अग्रज र मान्यजनलाई देख्नेबित्तिकै अभिवादनको रूपमा मात्र नमस्ते गरिआएका हामी अब आफ्नो स्वास्थ्यका लागि पनि नमस्कार गर्ने गरौँ । बिहान ब्युँझिनेबित्तिकै ओछ्यानमै जीवन र जगत्लाई केही समय नमस्कार गरौँ । पञ्चतत्वप्रति कृतज्ञता व्यक्त गरौँ । दिनभरिको ऊर्जालाई बढाऔं ।
प्रकाशित मिति २०८० मङ्सिर २२ गते शुक्रबार ०३:४३