सालको पात टपरी हुनी, नहुनी सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको…
विष्णु माझी र कुलेन्द्र विश्वकर्माले गाएको यो लोकदोहोरी गीत अहिले नेपाली संगीतप्रेमीको जिब्रोमै झुण्डिएको छ । यूट्युवमा सम्भवतः अहिलेसम्मकै सर्वाधिक...
सालको पात टपरी हुनी, नहुनी सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको…
विष्णु माझी र कुलेन्द्र विश्वकर्माले गाएको यो लोकदोहोरी गीत अहिले नेपाली संगीतप्रेमीको जिब्रोमै झुण्डिएको छ । यूट्युवमा सम्भवतः अहिलेसम्मकै सर्वाधिक भ्युज पाएको लोकदोहारी हो यो । गीतले डेढ करोड भ्युज कटाएपछि केही दिनअघि ‘सेलिब्रेसन’ कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा गीतसँग प्रत्यक्ष/परोक्ष गाँसिएका सबै उपस्थित थिए, सिवाय गायिका विष्णु माझी ।
कार्यक्रम आयोजकले विशेष कारणले विष्णु कार्यक्रममा आउन नसकेको स्पष्टीकरण दिए, उनको अनुपस्थिति अपेक्षित नै थियो । झण्डै डेढ दशकदेखि लोक गायनमा सक्रिय यी प्रख्यात गायिका आजसम्म एकपटक पनि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । विष्णुलाई आफ्नै श्रीमानले ब’न्धक बनाएर राखेका छन् भन्ने चर्चा चल्न थालेको लामो समय भयो । यो चर्चा सत्यसँग नजिक छ वा छैन भन्नेचाहिँ आजसम्म रहस्यमै छ ।
अहिले एक–दुईवटा गीत हिट हुनासाथ गायक–गायिकाहरुलाई स्वदेश तथा विदेशका कार्यक्रमहरुमा निम्तो आउन थाल्छन् । चलेका गायक–गायिकाहरुका लागि त विदेश यात्रा पानी पँधेरो धाएजत्तिकै हुन्छ । यस हिसाबले सयौं हिट गीत दिएकी विष्णु पनि देश–विदेशका कार्यक्रममा व्यस्त रहनुपर्ने हो । तर, उनले अहिलेसम्म विदेशमा पाइला पनि टेकेकी छैनन् । स्वदेशकै मेला–महोत्सवमा पनि उनी पुग्दिनन् । जब कि उनको सबैतिर चर्को डिमान्ड छ ।
विष्णुलाई आफ्नै श्रीमानले बन्धक बनाएर राखेका छन् भन्ने चर्चा चल्न थालेको लामो समय भयो । यो चर्चा सत्यसँग नजिक छ वा छैन भन्नेचाहिँ आजसम्म रहस्यमै छ ।
अहिलेकी नम्बर १ लोकगायिका मानिने विष्णु रहस्यपूर्ण र गुमनाम जीवन बाँचिरहेकी छन् । उनीसँग एउटा मोवाइल पनि छैन । गीत गाउन स्टुडियो धाउनेबाहेक अन्यत्र कुनै सार्वजनिक कार्यक्रममा जान्नन् । घरबाट बाहिर निस्किँदा पछ्यौरी र मास्कले अनुहार ढाक्छिन् । स्टुडियोमा छिर्नासाथ पहिले झ्यालको पर्दा लगाउँछिन्, अनि मात्र गाउँछिन् ।
सामाजिक सञ्जालमा उनको नामोनिशान छैन । आजसम्म एकचोटि पनि सञ्चारमाध्यममा आएकी छैनन् उनी । सानातिना कलाकारको पनि इन्टरभ्यू छ्याप्छ्याप्ती भेटिने समयमा उनको एउटै इन्टरभ्यू कतै भेटिँदैन । यति मात्रै होइन, विष्णुको नयाँ तस्वीर नै नआएको धेरै भयो । उनले गाएका गीतहरुमा एक दशक पुरानो एउटै तस्वीर प्रयोग भइरहेको हुन्छ । काठमाडौंमा उनी कहाँ बस्छिन्, कसैलाई थाहा छैन । थाहा हुनेहरु पनि बताउन चाहँदैनन् । स्याङ्जास्थित माइतीघरमा पनि उनी नपुगेको धेरै भइसकेको बताइन्छ ।
कर्णप्रिय स्वरकी धनी गायिकाको फ्यान फलोइङ भने ठूलो छ । यूट्यूवमा विष्णुका गीतमा कमेन्ट गर्ने धेरैले उनको वास्तविक अवस्थाका बारेमा जिज्ञासा राखिरहेका हुन्छन् । उनलाई मिडियामा आउन फ्यानहरुले निरन्तर आग्रह गरिरहेका छन् ।
विष्णुको सांगीतिक यात्रा
स्याङजाको रत्नपुर गाविस–६ चापाकोटमा एक विपन्न परिवारमा जन्मेकी विष्णु परिवारकी जेठी छोरी हुन् । सामान्य पशुपालन र खेतिमा निर्भर उनको परिवारलाई वर्षमा ६ महिना पनि पेटभर खान पुग्दैनथ्यो ।स्थानीय विद्यालयमा ५ कक्षासम्म पढेपछि परिवारले खर्च अभावले गर्दा बिद्यालयबाट निकाल्नुपरेको थियो । उनी सानैदेखि लोकगीतको सोखिन थिइन् र स्वर पनि मीठो थियो ।
विष्णुलाई १३ वर्षको उमेरमा पाल्पाको रामपुरका लोकगायक नारायण लेकालीले संगीतमा ल्याएका हुन् । रामपुर र चापाकोट खोला वारिपारि पर्छ, बीचमा झोलुंगे पुल छ । कुरा ०५८ सालको हो । नारायण त्यतिबेला लोकगीत प्रतियोगिताहरुमा भाग लिन्थे र आफैं पनि प्रतियोगिता गराउँथे । त्यसै क्रममा उनले चापाकोटमा एउटा प्रतियोगिता आयोजना गरेका थिए, जसमा भाग लिन आएकी थिइन् विष्णु । उनी प्रतियोगितामा प्रथम भइन् ।
‘मलाई पहिलोचोटि नै उनको स्वरले क्लिक गर्यो, यिनले भविश्यमा केही गर्छिन् भन्ने लाग्यो,’ नारायण त्यतिबेलाको क्षण सम्झिन्छन्, ‘त्यसैले सांगीतिक प्रतियोगिताहरुमा आफ्नो जोडी बनाएर भाग लिने निर्णय गरेँ ।’ उनले विष्णुका बाबुआमासँग छोरीलाई गायिका बनाइदिने भन्दै आफ्नो साथमा पठाइदिन आग्रह गरे । बाबुआमा तयार नहुने कुरै थिएन । विष्णु पनि गायिका बन्ने भनेर फुरुङ्ग बनिन् ।
आफूले विष्णुसँग दोहोरी गाएर थुप्रै प्रतियोगितामा भाग लिएको र पुरस्कार जितेको नारायण बताउँछन् । पहिलोपटक उनीहरुले बुटबल महोत्सवमा गाएर दोस्रो भएका थिए । त्यसपछि पाल्पा महोत्सवमा आयोजित प्रतियोगितामा प्रथम भए । यो ०६१ सालको कुरा हो ।
सोही प्रतियोगितामा भाग लिन आएका थिए पोखरेली लोकगायक सुन्दरमणि अधिकारी । उनले कुनै पुरस्कार जित्न सकेनन् । विष्णुको स्वर सुनेर सुन्दरमणि मोहित भए । विभिन्न दोहोरी प्रतियोगिताहरुमा भाग लिँदै आए पनि उनी खासै सफल हुन सकेका थिएनन् । विष्णुसँग जोडी बनाएर गाउन पाए आफू पनि सफल हुन्थेँ भन्ने मोह उनलाई जाग्यो । नारायणसित उनको पुरानो चिनजान थियो । उनले नारायणलाई आफ्नो आफ्नो इच्छा प्रकट गरे ।
‘मैले उसको आग्रह टार्न सकिनँ र विष्णुको परिवारलाई मनाएँ,’ नारायण भन्छन् ।
त्यसपछि सुन्दरमणिले ०६१ साल वैशाख ७ गते एक हप्ताका लागि भनेर लेखनाथ महोत्सवमा विष्णुलाई लिएर गए । नभन्दै उक्त महोत्सवमा आयोजित लोकगीत प्रतियोगितामा सुन्दरमणि र विष्णुको जोडी पहिलो भयो ।
‘एक महिनापछि उनीहरु घर फर्किएछन्, तर एक रात पनि नबसी फेरि हिँडेछन्, मसित भेटै भएन,’ नारायण भन्छन् । त्यसपछि सुन्दरमणिले विष्णुलाई काठमाडौं लिएर गएको उनी बताउँछन् । लेखनाथ महोत्सवमा भाग लिनु अगाडि नै विष्णुको स्वर रेकर्ड भइसकेको थियो । भगवती न्यौपानेको लय संकलन तथा प्रजापति पराजुलीको शब्द रहेको ‘आमाले अर्ति दिने घर जाने बेला..’ बोलको गीत ०६० सालतिर पोखराको फेवा स्टुडियोमा रेकर्ड भएको थियो । विष्णु काठमाडौं आएपछि प्रजापति र नारायणले बारम्बार सम्पर्क गर्न खोज्दा पनि सकेनन् ।
त्यसको करिब डेढ वर्षपछि ०६३ सालमा आयोजित बुटबल महोत्सवमा विष्णुलाई नारायणले भेटे । उनी सुन्दरमणिसँगै त्यहाँ दोहोरी प्रतियोगितामा भाग लिन आएकी थिइन् भने नारायण निर्णायकको भूमिकामा थिए । त्यहाँ भेट भए पनि नारायणको विष्णुसित खासै कुरा भएन । बरु आफूले एक हजार रुपैयाँ भाडा दिएर उनीहरुलाई नाइट गाडी चढाइदिएको नारायण बताउँछन् । त्यसयता उनको विष्णुसित कहिल्यै भेट भएको छैन ।
रिमोट सुन्दरमणिका हातमा !
सुन्दरमणिले विष्णुलाई आफ्नो जोडी बनाएर व्यवसायिक लोकगायनमा लगाए । बिहे नगरे पनि उनीहरु काठमाडौंमा सँगै बस्न थाले ।उनीहरुले गाएका केही गीत हिट भए । टिपिकल लोक दोहोरीमा फिट हुने विष्णुको स्वरको बजारमा खोजी हुन थाल्यो । उनलाई त्यतिबेला चलेका बिमा कुमारी दुरा, लक्ष्मी न्यौपाने, सिर्जना बिरही थापा, शर्मिला गुरुङहरुको विकल्पका रुपमा हेर्न थालियो ।
२५ सय मात्र पारिश्रमिक लिने उनी धेरैको रोजाइमा पर्न थालिन् । धेरैतिरबाट कार्यक्रमका लागि अफरहरु आउन थाले । तर, गीत रेकर्डिङका लागि स्टुडियो जानेबाहेक विष्णु कुनै सार्वजनिक कार्यक्रममा गाउन गइनन् । ०६४ सालसम्म उनी चर्चाको शिखरमा पुगिसकेकी थिइन् । उनी दैनिक ५–६ वटा गीतमा स्वर भर्न भ्याउँथिन् । उनीसँग काम गर्न चाहनेले सुन्दरमणिमार्फत डिल गर्नुपर्थ्यो/पर्छ । सफलतासँगै सुन्दरमणिले विष्णुको रेट बढाउँदै लगे । अहिले त उनी सर्वाधिक महंगी लोकगायिका कहलाउँछिन् ।
युट्युबमा भेटिएको विष्णु माझीको एकमात्र भिडियो
यसरी बाहिर हिट भइसक्दा पनि विष्णु न सार्वजनिक कार्यक्रम देखिइन्, न मिडियामा । त्यसपछि उनका बारेमा विभिन्न हल्ला चल्न थालेका हुन् । हल्ला यस्तो पनि चल्यो कि सुन्दरमणिले विष्णुलाई अविवाहित अवस्थामै बन्धक जसरी घरभित्रै थुनेर राखेका छन् र उनैले विष्णुलाई सामाजिक सञ्जाल/मोबाइलबाट टाढा राखेका हुन् । यस्तो चर्चामा आजसम्म न सुन्दरमणिले कुनै सफाइ दिएका छन् न विष्णुले ।
केही समयअघि कवि लेखक बादल घिमिरेले फेसबुकमा एउटा स्टाटस लेखे, जसमा उनले विष्णुको वास्तविकता बाहिर ल्याउन खोज्दा आफूमाथि अपरिचितबाट ज्यान मार्ने धम्की आएको उल्लेख गरेका थिए । उनको स्टाटसको सार थियो, ‘मेरो घरबाट विष्णुको घर करिब १५ मिनेटको दुरीमा पर्छ । विष्णुको स्वर नसुन्ने त यो देशमा विरलै होलान् । तर, उनको भूमिगत जिन्दगीका बारेमा कमैलाई थाहा छ । आखिर विष्णुलाई कसले यस्तो बनायो ? उत्तरः सुन्दरमणिले । विष्णु गीत गाउँछिन्, सुन्दरमणि पैसा बुझ्छन् ।’
घिमिरेले अगाडि लेखेका छन्, ‘विष्णुको जीवनको रिमोट नै सुन्दरमणिको हातमा छ । लाग्छ, विष्णुले श्वास फेर्न पनि सुन्दरमणिकै अनुमति लिनुपर्छ । हुन त केही वर्ष अगाडि सुन्दरले विष्णुसँग बिहे गरे भन्ने सुनियो । तर, आफ्नै श्रीमतीलाई भूमिगत शैलीमा बाँच्न बाध्य पार्ने अधिकार श्रीमानसँग हुन्छ ? विष्णु सुन्दरमणिको नजरबन्दमा छिन् । यो कुरा किन बाहिर ल्याउँदैनन् पत्रकारहरु ? हिरोइनको पाइन्ट एक इन्च तल भरेको समाचार लेख्ने मिडिया किन उनको समाचार लेख्दैनन् ?’
विष्णु मात्र होइन, सुन्दरमणि पनि मिडियाबाट टाढा छन् । संगीत क्षेत्रका केही साथीहरुबाहेक उनी पनि कसैको सम्पर्कमा आउन चाहँदैनन् । आफ्नाबारे आएका समाचारहरुमा कुनै प्रतिक्रिया जनाउँदैनन् । नजिकका व्यक्तिहरु भने उनलाई ‘असल व्यक्ति’ का रुपमा चित्रण गर्छन् । गायक लेकाली पनि विष्णुलाई सुन्दरमणिले नियन्त्रणमा राखेको दाबी गर्छन् । उनी भन्छन्, ‘उसले विष्णुलाई प्रयोग गरेर करोडौं कमाएको छ । तर, उनलाई एउटा मोबाइल पनि चलाउन दिएको छैन । हामीले विष्णुसित सम्पर्क गर्न खोज्दा पनि उसले दिँदैन । फोन गर्दा उठाउँदैन ।’
यता विष्णुका बारेमा उनको माइती परिवारबाट विरोधाभासपूर्ण कुरा मिडियामा आएका छन् । एक राष्ट्रिय दैनिकमा शनिबार प्रकाशित समाचारमा विष्णुका बाबु ताराबहादुर माझीले आफ्नी छोरीसँग ११ वर्षदेखि भेट नभएको बताएका छन् । फोनमा पनि कुरा हुन नसकेको उनको गुनासो छ ।
‘पोखराका कलाकार सुन्दरमणि अधिकारीसँग बिहे गरी अरे भन्ने सुनेका थियौं । आफ्नो जातभन्दा माथिल्लोसँग बिहे गरी । बिहेपछि एक दिन माइती आएकी थिई । घर नजिकको मन्दिरमा पूजाआजा गरेर केही समयमै फर्किहाली । त्यसपछि फर्केर आएकी छैन,’ विष्णुका बुबाको भनाइ उद्धृत गर्दै पत्रिकाले लेखेको छ, ‘छोरीको हातमा मोबाइल पनि छैन रे । घरबाट निस्किनसमेत पाएकी छैन रे ।’ ज्वाइँले छोरीलाई माइती आउन नदिएको उनले बताएका छन् ।
तर, विष्णुकी आमाको कुरा भने फरक छ । एउटा यूट्यूव च्यानललाई दिएको अन्तरवार्तामा उनले छोरी आउने–जाने गरिरहेको र फोनमा दिनहुँ कुरा हुने दाबी गरेकी छन् ।‘बाहिर मानिसहरुले अनेकथरी कुरा सोध्छन्, तर मेरो त छोरीसँग सँधै कुरा हुन्छ,’ उनले भनेकी छन् । साथै उनले आफूहरुलाई छोरीले आर्थिक सहयोग गरिरहेको पनि बताएकी छन् । तर, परिवारको स्थिति हेर्दा उनको भनाइ पत्याइहाल्ने अवस्था छैन ।
को हुन् सुन्दरमणि ?
कास्कीको लेखनाथ नगरपालिकाका बासिन्दा हुन् सुन्दरमणि अधिकारी । उनी पोखरा र आसपासका क्षेत्रमा आयोजना हुने लोकगीत प्रतियोगितामा नबिराई भाग लिन्थे । तर, विष्णुसँग जोडी बाँधेपछि मात्रै उनको करिअरले गति लियो । उनी अहिले सपना म्युजिक प्रालि नामक आफ्नै स्टुडियो पनि चलाउँछन् । विष्णुलाई क्यामेराबाट टाढा राखे पनि आफूलेचाहिँ केही लोकगीतका भिडियोमा अभिनय गरेका छन् ।
त्यसो त सुन्दरमणि पनि सञ्चारमाध्यममा आउन चाहँदैनन् । खासगरी विष्णुसँगको सम्वन्धको विषयमा प्रवेश गर्न खोज्दैनन् । फेसबुकमा पनि उनले आफ्नो बारेमा केही उल्लेख गरेका छैनन् । न त तस्वीरहरु नै राखेका छन् । आफ्नो फेसबुकमा उनले विष्णुले गाएका गीतहरुको लिंक मात्रै राखेका छन् ।लोक गायन क्षेत्रका व्यक्तिहरुसँग भने सुन्दरको राम्रै सम्वन्ध छ । नजिकबाट चिन्नेहरु उनलाई खराब व्यक्तिका रुपमा चित्रण गर्न चाहँदैनन् ।
करिब ९ वर्ष ‘लिभ इन रिलेसन’ मा बसेपछि विष्णु र सुन्दरमणिले पोखरा लेकसाइडको एक मन्दिरमा सुटुक्क बिहे गरेका थिए । थोरै आफन्त र सीमित साथीहरु उपस्थित थिए । बिहेपछि विष्णुलाई लेखनाथ नगरपालिका बेगनासस्थित सुन्दरको घरमा धुमधामसित भित्र्याइएको थियो । मन्दिरमा बिहे गर्दा एक हजार शुल्क तिर्नुपर्ने नियम भए पनि सुन्दरमणीले दुई हजार तिरेका थिए । बिहेको तस्वीर अहिलेसम्म सार्वजनिक भएको छैन । न उनीहरु दुबैले बिहे गरेको भनेर सार्वजनिकरुपमा स्वीकारेका नै छन् ।
सहकर्मीहरु भन्छन्ः विष्णुको ‘भूमिगत’ जीवन स्वेच्छिक
विष्णु माझी र सुन्दरमणिसँग काम गरेका तथा उनीहरुलाई चिन्ने लोक गायक–गायिकारहरु उनीहरुको विषयमा कुरा गर्नबाट पन्छिन खोज्छन् । सबैको एउटै भनाइ हुन्छ– यो उनीहरुको निजी विषय हो । गायक कुलेन्द्र विश्वकर्माले विष्णु माझीसँग अहिलेसम्म एक हजारभन्दा बढी गीत गाइसकेका छन् । तर, आफ्नो विष्णुसँग कहिल्यै लामो कुराकानी नभएको कुलेन्द्र बताउँछन् ।
उनले भने, ‘उहाँ धेरै बोल्नुहुन्न । खाली ‘एस’ र ‘नो’ मा कुरा हुन्छ । लामो कुराकानी कहिल्यै भएको छैन ।’ सुन्दरमणिले विष्णुलाई अनावश्यक नियन्त्रणमा राखेको कुरामा आफूलाई विश्वास नभएको र सुन्दरमणि असल व्यक्ति भएको उनले प्रतिक्रिया दिए ।
‘सुन्दरमणि बाहिर चर्चा भएजस्तो खराब व्यक्ति हुँदै होइनन् । उहाँहरुबीच केही नराम्रो भएको जस्तो लाग्दैन । तर, ठोकुवा गरेर त भन्न सक्दिनँ,’ कुलेन्द्रले भने । उनले आफूलाई दर्शक–स्रोताहरुले स्टेजमा विष्णुसँगै देख्न चाहेको भए पनि त्यो अहिलेसम्म सम्भव नभएको बताए ।
‘यदि उहाँ बाहिर निस्किन चाहनुभयो भने सबैतिर छाउन सक्नुहुन्छ, तर किन हो निस्कन चाहनुभएको छैन,’ उनले भने । लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष तथा चर्चित लोकगायक बद्री पंगेनीसँग हामीले विष्णुको विषयमा प्रश्न राख्दा उनले ‘कसैको निजी जिन्दगीमाथि आफूहरुले जबरजस्ती हस्तक्षेप गर्न नमिल्ने’ प्रतिक्रिया दिए ।
पंगेनीले भने, ‘यदि तपाईंको शरीरमा पीलो आयो र पी’डा भयो भने तपाईंले डाक्टरकोमा जानुपर्छ । अनि बल्ल डाक्टरले औषधि दिने हुन् । डाक्टर आफैं पिलो खोज्दै आउँदैन । यदि विष्णु माझी कुनै किसिमको अप्ठेरोमा हुनुभएको भए कसैसित त सेयर गर्नुहुन्थ्यो होला । त्यस्तो अवस्थामा प्रतिष्ठानका तर्फबाट वा व्यक्तिगतरुपमा पहल गर्ने कुरा आउँथ्यो । तर, उहाँले कसैसित कुनै गुनासो नै गर्नुभएको छैन र आफ्नो जिन्दगीमा सन्तुष्ट हुनुहुन्छ भने अरुलाई किन खसखस ?’
श्रीमानको धाक–ध म्की वा ड र त्रा सका कारण अरुसँग बोल्न नसकेको हो कि भन्ने प्रश्नमा पंगेनीले भने, ‘अहिलेको जमानामा यस्तो सम्भव नै छैन । केही अप्ठेरो थियो भने पक्कै भन्नुहुन्थ्यो । उहाँ त मेरै जिल्लावासी पनि हो ।’ पंगेनीले पनि विष्णुसँग आफ्नो सामान्य हाईहेल्लोबाहेक लामो गफ नभएको उल्लेख गरे । सुन्दरमणिसँग पनि आफ्नो राम्रो सम्वन्ध रहेको उनले बताए । तर, उनीहरु कहाँ बस्छन् भन्नेबारे जानकारी नभएको दाबी गरे ।
‘स्टुडियोमा कहिलेकाहीँ भेट हुन्छ, अन्यत्र भेटेको छैन,’ उनले भने । हामीले ‘सालको पात..’ गीतका संगीतकार बसन्त थापासँग पनि विष्णुका बारेमा आएका हल्लाहरुको विषयमा सोध्यौं ।
उनले भने, ‘मैले विष्णुसँग धेरै गीतहरुमा सहकार्य गरेको छु । स्टुडियोभन्दा बाहिर चैं कतै पनि भेट भएको छैन । मसँगको भेटमा सामान्य कुराकानी मात्रै हुन्छ । उहाँलाई हाँसीखुशी नै देखेको छु । मनभित्र कुनै पी’डा हुन्थ्यो भने अनुहारको भावबाट थाहा हुन्थ्यो होला ।’ थापाले पनि सुन्दरमणिबाट आफ्नै श्रीमतीलाई बन्धक बनाउने काम हुनै नसक्ने दाबी गरे ।
‘हो, गीत गाउन आउँदा उहाँहरु सँगै आउनुहुन्छ र सँगै जानु हुन्छ । तर, मैले पारिश्रमिकचाहिँ विष्णुजीलाई नै दिएको हुँ । उहाँहरुको सम्वन्धमा त्यस्तो जटिलता केही देखेको छैन मैले । यदि गुमनाम जीवन बाँच्न कोही चाहन्छ भने त्यो उसको प्राइभेसीको कुरा हो ।’ थापाले विष्णु स्टुडियोमा आउँदा मास्क र पछ्यौरी ओढेर आउने तथा स्टुडियोभित्र पर्दा लगाएर मात्रै गीत गाउने गरेको स्वीकारे ।
‘के कारणले उहाँ आफूलाई लुकाउन चाहनुहुन्छ, त्यो मलाई थाहा भएन । तर, यो सत्य को कि उहाँ सार्वजनिक हुन चाहनुहुन्न । फोटो खिच्न पनि मान्नुहुन्न । कसैसित घुलमिल बन्नुहुन्न ।’ तर, नाम उल्लेख नगर्ने शर्तमा एक लोकगायकले भने सुन्दरमणिले नै विष्णुलाई सामाजिक बन्न नदिएको दाबी गरेका छन् ।
‘विष्णुलाई सुन्दरमणिले कहिल्यै एक्लै बाहिर हिँड्न दिँदैनन्, अरुसँग हाँसेको–बोलेको मन पराउँदैनन्,’ उनले भने, ‘उनलाई गीतका लागि आउने प्रस्तावमा आफैं डिल गर्छन् र पैसा पनि आफैं लिन्छन् ।’ त्यसो त आफ्नो कम शिक्षाका कारण पनि विष्णु सार्वजनिकरुपमा खुल्न नचाहेको आशं;का कतिपयको छ । यो आशंकामा भने त्यति दम देखिँदैन । उनीजस्तै कम पढेका थुप्रै सेलिब्रिटीहरु हैकम जमाएर बसिरहेका छन् यो फिल्डमा ।
पटक–पटक प्रयास गर्दा पनि सुन्दरमणि सम्पर्कमा आएनन् । हो, कसैसँग पनि आफ्नो मर्जी अनुसार बाँच्ने हक हुन्छ, चाहे उ सेलिब्रिटी नै किन नहोस् । तर, जब कुनै सेलिब्रेटीका बारेमा गम्भीर प्रश्न उठ्छ त्यतिबेला स्पष्टीकण दिनुपर्ने दायित्व उनीहरुकै हो । उनीहरु दुबैले सार्वजनिकरुपमा यसबारे स्पष्ट नपारेसम्म फ्यानहरुको कौतुहल र चिन्ता समाप्त नहुने देखिन्छ ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807