धनगढीमा सामाजिक सञ्जालमार्फत जीवनसाथी खोजिदिने म्यारिज ब्युरो खुलेको छ

धनगढीमा सामाजिक सञ्जालमार्फत जीवनसाथी खोजिदिने म्यारिज ब्युरो खुलेको छ

सञ्चार बाणी

@SancharBani

२०८० पुस २० गते शुक्रबार ११:४३

काठमाडौं । धनगढीका एक युवाले सामाजिक सञ्जालमार्फत वर-वधू खोजिदिने सेवाको रूपमा म्यारिज ब्युरो सञ्चालनमा ल्याएका छन् । धनगढी-६ जयदुर्गे टोल मटियारीका २६ वर्षीय युवक द्रोण अवस्थीले धनगढीमा आधारित फारवेस्ट म्यारिज ब्युरो सुरु...

काठमाडौं । धनगढीका एक युवाले सामाजिक सञ्जालमार्फत वर-वधू खोजिदिने सेवाको रूपमा म्यारिज ब्युरो सञ्चालनमा ल्याएका छन् । धनगढी-६ जयदुर्गे टोल मटियारीका २६ वर्षीय युवक द्रोण अवस्थीले धनगढीमा आधारित फारवेस्ट म्यारिज ब्युरो सुरु गरेका हुन् ।

उनका अनुसार धनगढी उपमहानगरपालिकामा दर्ता भएको यो ब्युरो सञ्चालनमा आएको करिब तीन महिना भइसकेको छ । विवाहका लागि “म्याच मेकिङ” अर्थात् जोडी मिलाइदिने गरी ब्युरो सञ्चालनमा ल्याइएको उनले सुनाए ।

तर संस्थापक अवस्थीको ‘लभ अफेयर’ अर्थात् माया पिरती गाँस्ने कार्यमा भने ब्युरो संलग्न नहुने बताए । “हामी निश्चित शुल्क लिएर रजिस्ट्रेसन गराउँछौं र फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालबाट उपयुक्त वर-वधू खोजिदिने काम गर्छौं,” उनले भने, “यस्ता पोस्टहरूका लागि सामाजिक सञ्जाल पेजहरूमा आवश्यकता अनुसार विज्ञापन समेत सञ्चालन गर्छौं ।”

वर-वधू खोज्ने क्रममा युवा-युवतीको नाम र तस्विर जस्तो व्यक्तिगत पहिचान खुल्ने विवरण भने सार्वजनिक नहुने र गोपनीयता पूर्ण रूपमा सुरक्षित राख्निने अवस्थीले सुनाए । “रजिस्ट्रेसन गराउने हरेक व्यक्तिको गोपनीयतालाई हामी उच्च सम्मान गर्छौं । महिलाको विषयमा त अझ धेरै संवेदनशील छौं,” उनले भने ।

“रजिस्ट्रेसन फाराममा व्यक्तिगत विवरण, सम्बन्धित व्यक्तिले वर/वधूका लागि राखेको अपेक्षा (उमेर, उचाई, शिक्षा, पेशा आदि ) र कम्पनीसँगको सम्झौता समावेश हुन्छ । नाम र तस्विर बाहेकको व्यक्तिगत विवरण तथा अपेक्षित विवरणको आधारमा हामी उपयुक्त वर/वधूको खोजी गर्छौं ।”

उदाहरणका लागि कुनै युवकले आफ्ना लागि वधू खोज्न रजिस्ट्रेसन गराएको छ भने उक्त व्यक्तिको पृष्ठभूमि र जीवन साथीमा अपेक्षा गरेको विवरण खुलाएर ब्युरोले पोस्ट तथा विज्ञापन गर्छ । यदि कुनै युवती इच्छुक देखिएको खण्डमा रजिस्ट्रेसन गर्न लगाएर युवकको तस्विर देखाइन्छ ।

सबै कुरा चित्त बुझेको खण्डमा युवतीको विवरणसहितको तस्विर युवकलाई पनि उपलब्ध गराइन्छ । यसरी दोहोरो रूपमा अपेक्षा मिलेको र एक अर्कालाई मन पराएको खण्डमा आपसी सम्पर्क कायम गराएर विवाहका लागि प्रक्रिया अगाडि बढाइने ब्युरोले जनाएको छ ।

हाल रजिस्ट्रेसनका लागि युवा-युवतीलाई तीन हजारदेखि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । तर अपाङ्ग र अशक्त व्यक्तिहरूबाट भने उक्त शुल्क नलिने अवस्थीले बताए ।

इच्छुक व्यक्तिले ब्युरोको ह्वाट्सएप नम्बर (९७६९९३२०७६), फेसबुक पेज र इन्स्टाग्राम अकाउन्टमार्फत सम्पर्क गरी रजिस्ट्रेसन गराउन सक्छन् । हिजोको दिनमा व्यक्तिगत रूप तथा लमीमार्फत वर-वधू खोजी हुने गरेकोमा समयको माग अनुसार प्रविधि मार्फत सोही किसिमको सेवा दिन ब्युरो सञ्चालनमा ल्याइएको अवस्थीले सुनाए ।

उनका अनुसार ब्युरो सञ्चालनमा आएयता तीन महिनाको अवधिमा १३/१४ जनाले रजिस्ट्रेसन गराइसकेका छन् भने एउटा जोडीको टुङ्गो लागिसकेको छ । बाँकी तीनचार जोडीको कुरा समेत अन्तिम चरणमा रहेको उनले सुनाए ।

“यस किसिमको सेवा दिनेहरू काठमाडौं केन्द्रित मात्रै छन् र उनीहरू अस्ट्रेलिया, अमेरिका जस्ता देशमा रहेका युवा-युवतीका लागि काम गरिरहेका देखिन्छन्,” उनले अगाडि भने, “तर राजधानी बाहिर स्थानीय रूपमा वर/वधू खोज्ने कुरामा समस्या देखेपछि धनगढीबाट ब्युरो सञ्चालनमा ल्याउने सोचेको हुँ ।”

धनगढी केन्द्रित भए पनि ब्युरोमा जतासुकैबाट रजिस्ट्रेसन गराउन सकिने अवस्थीले बताए । “जोडी खोज्नका लागि हामीले बैतडी, बाजुरा, बझाङ्ग लगायतका विभिन्न ठाउँमा शाखा तथा सम्पर्क व्यक्ति राखिरहेका छौं,” उनले भने ।

सिभिल इन्जिनियर समेत रहेका अवस्थीले ३०/४० हजार रुपैयाँको लगानीबाट ब्युरो सुरु गरेका हुन् । ब्युरोमार्फत सस्तो र वातावरणमैत्री ‘इभेन्ट म्यानेजमेन्ट’ (वैवाहिक कार्यक्रम आयोजना) गर्ने योजना रहेको समेत उनले सुनाए ।

“अब चाँडै नै ब्युरोको वेबसाइट पनि सार्वजनिक गर्दैछौं,” उनले भने, “तर मोबाइल एप भने तत्काल ल्याउने कुनै योजना बनिसकेको छैन, लगानी जुट्दै गएको खण्डमा त्यो पनि आउनेछ ।”

प्रकाशित मिति २०८० पुस २० गते शुक्रबार ११:४३
प्रतिक्रिया दिनुहोस