काठमाडौँ । सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदै छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरेर श्राद्ध गरिन्छ । १६ दिन गरिने भएकोले सोह्रश्राद्ध भनिन्छ ।
सक्नेले यस पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ। नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्छ ।
कुनै कारणवश पिताको तिथिमा श्राद्ध रोकिएमा अष्टमी, द्वादशी वा औँशीमा श्राद्ध गर्नुपर्छ । औँशीमा पनि रोकिए आश्विन शुक्ल पञ्चमीसम्म गर्नुहुन्छ, त्यसबीचमा पनि गर्न नपाए कार्तिक कृष्ण औशीमा गर्नुपर्छ । यस दिन पनि गर्न नमिल्ने भयो भने सूर्य वृश्चिक राशि (मङ्सिर १ गते) जानुअघि जुराएर गर्नुपर्छ । तिथिका दिन रोकिएपछि गरिने श्राद्ध नन्दा तिथि अर्थात् प्रतिपदा, षष्ठी र एकादशीमा पारिनुहुन्न ।
सूर्य वृश्चिक राशिमा जानुअघिसम्म दिवङ्गत पितृ पितृलोकबाट मत्र्यलोकमा झरेर पिण्डदानको आशाले सन्तानको घर वरपर घुमेर बस्छन् भन्ने शास्त्रीय वचन छ। यस समयमा श्राद्ध नगरे पितृले सराप्दै फेरि पितृलोकमा फर्कन्छन् भन्ने मान्यता छ ।
बडादसैँको नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार सोह्रश्राद्ध हुँदै छ । भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै पितृको श्राद्ध तथा तर्पण गरिने यो पितृ कार्य अति पवित्र मानिन्छ ।
पशुपति क्षेत्र विकास कोषले घाटमा कोष अन्तर्गत कर्मकाण्डको प्रमाणपत्र प्राप्त ब्राह्मणलाई मात्र पितृ कार्य गर्न अनुमति दिइएको र उनीहरूलाई कोरोना सङ्क्रमणबाट बचाउ हुने स्वास्थ्य मापदण्डको पूर्ण रूपमा परिपालन गर्न गराउन निर्देशन दिएको छ ।
प्रत्येक औँसी पितृ पक्ष भए पनि यो असोजको सोह्रश्राद्ध महत्वको मानिन्छ ।
प्रकाशित मिति २०७८ असोज ५ गते मङ्गलबार ०२:२७