राजनीति

संसद बिघटनको असर प्रदेशमा सुरु

संसद बिघटनको असर प्रदेशमा सुरु

सञ्चार बाणी

@SancharBani

२०७७ पुस ११ गते शनिवार ०६:४१

११ पुस, विराटनगर । प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्रीबाट पदमुक्त भएका इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका छन् । केन्द्रसँगै ६ वटा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको...

११ पुस, विराटनगर । प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्रीबाट पदमुक्त भएका इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका छन् ।

केन्द्रसँगै ६ वटा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड-माधव समूहमा विभाजित भएको छ । पार्टी फुटसँगै प्रदेश सरकारहरु समेत संकटमा पर्ने देखिएको छ ।

बागमती प्रदेशमा शुक्रबार मात्र प्रचण्ड-माधव समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । प्रदेश १ मा पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड-माधव समूहको छ ।

त्यसको सूचना पाएपछि मुख्यमन्त्री शेरधन राईले शनिबार नै आङ्बोलाई पदमुक्त गरेको पत्र थमाएका थिए ।

मन्त्रीबाट पदमुक्त भएका आङ्बोले भने मुख्यमन्त्रीले बाटो खोलिदिएकाले अविश्वासको प्रस्ताव दर्ता गर्न सहज भएको बताए । ‘मुख्यमन्त्रीज्यूले पदमुक्त गर्नु भएछ’ उनले अनलाइनखबरसँग भने, ‘अब मेरो अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता हुन्छ ।’

आङ्बोले प्रदेश सरकारमा रहेर दुई वर्ष १० महिना काम गर्ने अवसर प्रदान गरेकोमा मुख्यमन्त्री राईलाई धन्यवाद समते दिएका छन् ।

नेकपा फुटपछि प्रदेश १ का मुख्यमन्त्री राई अल्पमतमा छन् । ९३ सदस्यीय प्रदेश सभामा सत्तारुढ नेकपाको ६७ सदस्य थिए, जसमध्ये २० जना मात्र ओली समूहमा छन् ।

प्रचण्ड-नेपाल पक्षमा ४७ जना सदस्य छन् र यो सरकार बनाउन पुग्ने संख्या हो । यस्तै प्रदेशसभामा नेपाली काँग्रेससँग २१, जनता समाजवादी पार्टीसँग तीन, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रीय मञ्चका एक-एक सदस्य छन् ।

प्रकाशित मिति २०७७ पुस ११ गते शनिवार ०६:४१
प्रतिक्रिया दिनुहोस