पोखरा । नाइजेरियामा कोरोना भाइरसको अर्को नयाँ प्रकार फेला परेको अफ्रिकाको रोग नियन्त्रण संस्थाका प्रमुखले जनाएका छन् ।
बेलायत र दक्षिण अफ्रिकामा भेटिएको भाइरसको प्रकारभन्दा नाइजेरियमा फेला परेको भाइरसको प्रकार फरक रहेको अफ्रिका सेन्टर फर डिजिड कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) का प्रमुख जोन एनकेंगगासोङले जानकारी दिएका हुन् ।
नाइजेरिया सीडीसी र अफ्रिकन सेन्टर फर एक्सिलेन्स फर जिनोमिक्स अफ इन्फेक्सियस डिजिजले नाइजेरियामा पाइएको भाइरसको नयाँ प्रकारको थप अध्ययन गर्ने छ । भाइरसको नयाँ प्रकार गत ३ अगस्त र ९ अक्टोबरमा नाइजेरियाको ओसुन राज्यमा सङ्कलन गरिएको स्याम्पलमा दुई जनामा पाइएको थियो ।
बेलायतमा देखिएको भाइरसविपरीत पी ६८१ एच नाम दिइएको भाइरसको नयाँ प्रकारले नाइरजेरियामा संक्रमणलाई तीव्र गतिमा फैलाएको हालसम्म पाइएको छैन । तर, पछिल्लो हप्ता नाइजेरियामा ५२ प्रतिशतले सङ्क्रमण बढेको छ भने, दक्षिण अफ्रिकामा ४० प्रतिशतले यो वृद्धि भएको हो ।
हालसालैका हप्तामा नाइजेरियाका प्रयोगशालामा नमूनाको संख्यामा ठूलो वृद्धि भएको सीडीसीका महानिदेशक चिक्वे इहेक्वाइजुले ट्वीटरमा उल्लेख गरेका थिए । जसकारण परीक्षणमा असामान्य ढिलाइ भएको जनाइएको छ ।
नाइजेरियामा भाइरसको नयाँ प्रकार भेटिएसँगै दक्षिण अफ्रिका र बेलायतमा देखिएको भिन्न प्रकारको थप सङ्क्रामक सार्स–कोभ–२ ले महामारीको नियन्त्रणमा थप चुनौती थपिएको छ ।
प्रकाशित मिति २०७७ पुस १० गते शुक्रबार ०५:३५