गर्मी महिना सुरू भएसँगै देखिने विभिन्न समस्यामध्ये घमौरा एक हो ।
गर्मीका कारण आउने घमौरा जुनसुकै उमेर समूहका मानिसहरूमा देखिने प्रमुख समस्या हो । छालाको बाहिरी सतहमा देखापर्ने हलुका चिलाउने, पोल्ने रातो बिमिरालाई घमौरा भनिन्छ । शरीरमा देखिने घमौरा धेरैजसो घाँटी, छाती, ढाड, हात र काखीमा वा कापमा आउने भए पनि यो विस्तारै शरीरभरि देखापर्न थाल्छ । गर्मी बढेसँगै बढ्दो तापक्रमबाट बच्नका लागि शरीरबाट पसिना निस्कन्छ ।
तर, निरन्तर पसिना निस्किरहने क्रममा पसिना निस्कने छालामा रहेको छिद्र बन्द हुन सक्छ । जसकारण पसिना बाहिर निस्कन पाउँदैन र मसिना बिमिरा निस्कने गर्छन् जसलाई हामी घमौरा भन्छौँ । धुलो, फोहोर आदि छालामा जम्मा हुनुका कारणले पनि पसिना निस्कने छिद्र बन्द हुने सम्भावना हुन्छ । कहिलेकाहीँ छालामा हुने ब्याक्टेरिया तथा मृत कोशिकाले पनि पसिना निस्कने छिद्रलाई बन्द गरिदिने हुँदा घमौरा निस्कन सक्छ ।
सबै उमेर र लिङ्गका मानिसलाई घमौराले सताउने भए पनि यो समस्या बालबालिकामा बढी देखिन्छ । बच्चाको पसिना ग्रन्थी राम्रोसँग विकास भइनसकेका कारण उनीहरूमा घमौरा निस्कने सम्भावना बढी हुन्छ । घमौराले गर्दा हाम्रो पूरै शरीर नराम्रोसँग चिलाउन थाल्छ । चिलाउँदा घाउ हुने, छाला निस्कने तथा दाग बस्ने सम्भावना पनि रहन्छ । घमौरा आएमा केही कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
घमौरालाई भिजाएको सफा रुमालले पुछ्ने र शीतल हावामा सुक्न दिने गर्नुपर्छ । घमौरा भएको ठाउँमा बरफ दल्दा चिसो भएर राहत मिल्छ । घमौरा आएको छालाको सतहलाई राम्ररी सफा गरिसकेपछि पाउडर लगाउनाले चिलाउने तथा पोल्ने समस्याबाट राहत पाउन सकिन्छ । बजारमा घमौराबाट छुटकारा पाउन सकिने पाउडर पाइन्छ । यसले हामीलाई शितलता प्रदान गर्छ । तर, छालालाई चिल्लो पार्ने भ्यासलिन जस्ता क्रिमको प्रयोग गर्नु हुँदैन ।
सामान्यतया राम्ररी नुहाउने र घमौरा आएको ठाउँलाई सुख्खा बनाएर खुला राख्दा बिस्तारै निको भएर जान्छ । घमौरा चिलाएमा डाक्टरको सल्लाहअनुसार नचिलाउने औषधि वा मल्हमको प्रयोग गर्न सकिन्छ । गर्मी धेरै वा केहीगरी ब्याक्टेरिया अथवा किराको सङ्क्रमण भएमा घमौरा पाक्छ । घमौरा पाक्यो भने उपचार गराउनु आवश्यक हुन्छ । घमौरा एकपटक आएर सन्चो भए पनि फेरि दाहोरिने सम्भावना हुन्छ । गर्मीबाट जोगिनु नै घमौराबाट बच्ने सजिलो र उचित उपाय हो ।
खासगरी चर्को घाममा ननिस्कने, कसिलो र बाक्लो कपडा नलगाउने गर्दा घमौरा निस्कने सम्भावनामा कमी आउँछ । गर्मीमा खुल्ला, पातला सुतीका कपडा लगाउनु राम्रो हुन्छ । गर्मीमा पसिना आइरहने हुँदा हरेक दिन नुहाउनु पर्छ । पसिना निस्कन सहज बनाउनका लागि पर्याप्त मात्रामा पानी पिउने गर्नु पर्छ । कहिलेकाहीँ घमौराजस्ता देखिने बिमिरा घमौरा नभएर ब्याक्टेरियल तथा फङ्गल सङ्क्रमणबाट भएको हुनसक्ने हुँदा डाक्टरलाई देखाउनु उचित हुन्छ ।
प्रकाशित मिति २०७८ बैशाख १५ गते बुधबार ०६:३२