शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा चहलपहल बढ्यो

शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा चहलपहल बढ्यो

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण २६ गते बुधबार ०२:०२

काठमाडौँ / पशुपति मन्दिर परिसरमा शिवरात्रिको चहलपहल बढेको छ । हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्वमध्येको एक शिवरात्रि यस वर्ष भोलि बिहीबार परेको छ । यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट साधुसन्तहरू पशुपति मन्दिर...

काठमाडौँ / पशुपति मन्दिर परिसरमा शिवरात्रिको चहलपहल बढेको छ । हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्वमध्येको एक शिवरात्रि यस वर्ष भोलि बिहीबार परेको छ ।

यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट साधुसन्तहरू पशुपति मन्दिर परिसरमा आइसकेका छन् । केही बेलुकासम्म आउनेछन् । हिन्दुहरूका आराध्यदेव पशुपति नाथमा शिवरात्रीका दिन विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरू आउने गर्दछन् । यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले शिवरात्रि सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ ।

शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । पशुपति क्षेत्र विकास कोषले मङ्गलबार पत्रकार सम्मेलन गरी शिवरात्रिको तयारी पूरा भएको बताएको छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरूमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

प्रकाशित मिति २०७७ फाल्गुण २६ गते बुधबार ०२:०२
प्रतिक्रिया दिनुहोस