पिनास हुँदा खाना बार्नु पर्दैन

पिनास हुँदा खाना बार्नु पर्दैन

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण २४ गते सोमबार ०५:५६

पोखरा / मौसम परिवर्तन भएका कारण धेरैजसोलाई रुघाखोकी लाग्ने हुन्छ ।सुरुमा नाक बन्द हुने, नाक बग्नेलगायतका समस्या हुन्छ । यसलाई समान्य सोचेर लापरवाही गरेका कारण रुघाखोकी बिग्रिन्छ र विस्तारै यो पिनासको समस्यामा परिणत हुँदै जान्छ...

पोखरा / मौसम परिवर्तन भएका कारण धेरैजसोलाई रुघाखोकी लाग्ने हुन्छ ।सुरुमा नाक बन्द हुने, नाक बग्नेलगायतका समस्या हुन्छ । यसलाई समान्य सोचेर लापरवाही गरेका कारण रुघाखोकी बिग्रिन्छ र विस्तारै यो पिनासको समस्यामा परिणत हुँदै जान्छ ।

नाक वरिपरिको हड्डीमा हावा भरिएको खाली भागमा साइनसको सङ्क्रमण हुनुलाई पिनास भनिन्छ । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका सहप्राध्यापक तथा नाक, कान, घाँटी विभाग प्रमुख डा. श्रृती मानन्धरका अनुसार पिनास हुुने मुख्य कारण एलर्जी हो ।

मौसमको परिवर्तन, खानाको एलर्जी, घरपालुवा जनावरबाट हुने एलर्जी, लगातार रुघाखोकी, रुघा बिग्रिँदा र अत्यधिक धुलोधुँवा भएको ठाउँमा बस्ने तथा काम गर्ने मानिसमा पिनास हुने जोखिम उच्च हुन्छ । नाक बन्द हुने, नाकबाट सिँगान बग्ने, चिप्लो वा गनाउने सिँगान आउने, पिपजस्तो बगेको सिँगान, सङ्क्रमण, सुध्ने क्षमतामा कमी आउने, टाउको दुख्ने समस्या पिनासका केही लक्षण हुन् ।

पिनास ठूलो उमेरका मानिसमा मात्र नभई बच्चामा समेत हुनसक्छ । बच्चामा सुरुमा रुघामर्की लाग्ने, नाकमा मासु पलाउने, टन्सिलको आकार ठूलो हुने, नाक बन्द हुने, मुखले सास फेर्नेलगायतका केही लक्षण देखिनसक्छ । पहिला पिनास हुन्छ र पछि छातीभरि फैलिन पनि थाल्छ । गम्भीर समस्या भएकामा साइनस आँखा वरिपरि वा मस्तिष्कसम्म पनि फैलिन सक्छ ।

पिनास आँखा वरिपरि फैलिनेदेखि मष्तिष्कसम्म असर गर्न सक्ने हुँदा यसलाई सुरुवाती चरणमा रोकथाम वा उपचार गर्नुपर्ने हुन्छ । पिनासको घरेलु उपचारमा बाफ लिने, योगा गर्ने गर्न सकिन्छ । पिनास हुँदा कुनै खास खाना बार्नु पर्छ भन्ने हुँदैन । कुन खानाले गर्दा बिरामीमा एलर्जी बिग्रन सक्छ भन्ने बिरामी आफैँलाई थाहा हुनुपर्छ ।

लगातार रुघा, नाक बन्द हुनेजस्ता विभिन्न लक्षण देखिए तथा एलर्जीको समस्या भएका बिरामीले लापरवाही नगरी पिनासको रोकथाम गर्नका लागि डाक्टरकहाँ जानु नै उचित हुन्छ । बिरामीको पिनासको अवस्था हेरेर औषधि उपचार र शल्यक्रिया गरी पिनासको उपचार दुई प्रकारले हुने गर्छ ।

प्रकाशित मिति २०७७ फाल्गुण २४ गते सोमबार ०५:५६
प्रतिक्रिया दिनुहोस