यसरी मनाउनुहोस् कोरोना संक्रमणबीच तिहार ?

यसरी मनाउनुहोस्  कोरोना संक्रमणबीच तिहार ?

सञ्चार बाणी

@SancharBani

२०७७ कार्तिक ३० गते आईतबार ०२:२९

काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च रहेकाले सजगतासाथ तिहार मनाउन विज्ञहरूले सुझाव दिएका छन् । चाडपर्वको समयमा एकै ठाउँमा धेरै जना जमघट गर्दा संक्रमण थप फैलिने भएकाले सावधानी अपनाउन उनीहरूले सुझाएका हुन् । सरुवा रोग विशेषज्ञ...

काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च रहेकाले सजगतासाथ तिहार मनाउन विज्ञहरूले सुझाव दिएका छन् ।

चाडपर्वको समयमा एकै ठाउँमा धेरै जना जमघट गर्दा संक्रमण थप फैलिने भएकाले सावधानी अपनाउन उनीहरूले सुझाएका हुन् । सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाका अनुसार पर्वको समयमा विशेष गरी बालबालिका र वृद्धवृद्धाले बढी सावधानी अपनाउन आवश्यक रहेकाे खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

‘बच्चाहरू शंकास्पद संक्रमित र जोखिम वर्ग दुवैसँग घुलमिल हुन्छन्,’ उनले भने, ‘संक्रमणका हिसाबले बालबालिका त्यति जोखिममा छैनन् तर उनीहरूले एकबाट अर्कामा सजिलै रोग सार्ने भएकाले धेरै घुलमिल नगर्दा राम्रो ।’

देउसीभैलो नखेल्न र टीका लगाउन नातेदारकहाँ नजानसमेत उनले युवा र बालबालिकालाई आग्रह गरे, ‘यसपालि जहाँ छौं, त्यहीं बसेर सावधानीसाथ तिहार मनाऔं ।’ संक्रमणको समयमा खानपानमा समेत ध्यान दिनुपर्ने उनले बताए । ‘भाइरसमुक्त भए पनि शरीर पहिले जस्तो हुँदैन, जुनसुकै अंगमा असर गरेको हुन सक्छ,’ डा. बाँस्तोलाले भने, ‘यस्तो बेलामा मद्यपान र धूमपानले ती अंग थप बिगार्न सक्छ, अन्य खानेकुरा भने बार्न जरुरी छैन ।’

जनस्वास्थ्यविद् डा. समीरमणि अधिकारीले संक्रमणको समयमा तिहारलाई फरक तरिकाले मनाउन सुझाए । ‘तिहारमा बालबालिका र युवा बढी संलग्न हुने भएकाले दसैंमा जस्तो धेरै जोखिम छैन,’ उनले भने, ‘भौतिक दूरी कायम गरेर टीका लगाउन, कुराकानी गर्न मिल्छ,’ उनले भने, ‘वृद्धवृद्धाको नजिक धेरै नबस्ने, बस्नै परे कोठा खुला राख्ने गर्नुपर्छ ।’

घरमै संक्रमित भए सकेसम्म आइसोलेसनमै बस्ने र टीका लगाउने, भोज खाने जस्ता सांस्कृतिक माहोलमा मिसिन नहुने उनले बताए । ‘घरमै बसेका संक्रमितलाई सास फेर्न गाह्रो भए वा छाती दुखे चाड सकिने प्रतीक्षा गर्नु हुँदैन,’ उनले भने, ‘सक्दो चाँडो अस्पताल जानुपर्छ या स्वास्थ्यकर्मीको सल्लाह लिइहाल्नु पर्छ ।’

कोरोना संक्रमण समुदायमा फैलिसकेकाले सकभर घरभित्रै चाड सीमित राख्नुपर्ने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । ‘भीड गर्दा संक्रमण फैलिने जोखिम छ भन्दाभन्दै दसैंमा लापरबाही भयो र संक्रमण झन् बढ्यो,’ उनले भने, ‘तिहारमा पनि उस्तै व्यवहार गर्ने हो भने संक्रमण अझै अनियन्त्रित हुन्छ ।

त्यसैले मास्क नफुकाली खुला ठाउँमा बसेर टीका लगाउनुपर्छ, एकै ठाउँमा भेला भएर खाना खानु पनि हुँदैन ।’ परिवारमा कसैलाई रुघाखोकी मात्रै लागेको छ भने मौसमी फ्लू भनेर नझुक्किन र कोरोनाकै लक्षण मानेर क्वारेन्टाइनमा बस्न समेत उनले सुझाव दिए ।

संक्रमितको संख्या बढ्दै गएर शनिबारसम्म २ लाख ८ हजार २ सय ९९ पुगिसकेको छ । २४ घण्टामा मुलुकभर १ हजार ९ सय ४६ जना संक्रमित थपिएका छन् भने उपत्यकामा थप ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सरकारले लक्षण भएका कोरोना संक्रमितको मात्रै निःशुल्क परीक्षण र उपचार गर्ने भएको छ । निःशुल्क सेवा सरकारी अस्पताल र प्रयोगशालामा मात्रै उपलब्ध हुनेछ । आइसोलेसन सेन्टरमा बस्नेले शुल्क तिर्नुपर्ने वा नपर्ने भन्नेमा स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छैन ।

प्रकाशित मिति २०७७ कार्तिक ३० गते आईतबार ०२:२९
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७