श्रीमतीसँग झगडा परेपछि इटालीका एक पुरूष ४ सय ५० किलोमिटर हिँडेका छन्। श्रीमतीसँग झगडा परेपछि एक हप्ताअघि रिसाएर घरबाट निस्किएका ती पुरूषले ४ सय ५० किलोमिटर हिँडेको बिबिसीले जनाएको छ।
सो खबर बाहिरिएपछि इटालियनहरूले उनलाई ‘फोरेस्ट गम्प’को उपनाम समेत दिएका छन्। सन् १९९४ को सिनेमा फरेस्ट गम्पमा हलिउडका कलाकार टम ह्याङ्क्स हजारौं किलोमिटर हिँडेका थिए। इटालीको कोमोबाट हिँडेको एक हप्तापछि उनलाई एड्रियाटिक कोस्टको फानोमा बिहान २ बजे प्रहरीले रोकेको थियो।
४८ वर्षीय ती पुरूषलाई प्रहरीले ४ सय ८५ डलर जरिवाना समेत तिराएको छ। प्रहरीले सुरूमा उनी ४ सय ५० किलोमिटर हिँडेको कुरा विश्वास गरेका थिएनन्। तर एक हप्ताअघि आफ्ना श्रीमान हराएको भन्दै उनकी श्रीमतीले कोमोमा उजुरी दिएकी थिइन्।
इटालीका मिडियाका अनुसार प्रहरीले उनलाई भेटाउँदा उनी थकित र चिसिएका थिए। ‘म ठिक छु, अलिक थकाइ मात्र लागेको छ,’उनले प्रहरीलाई बताएका थिए। हिँडाइका दौरान उनलाई अपरिचित व्यक्तिहरूले खाना दिएका थिए। समाचार पत्र इन्डिपेन्डेन्टका अनुसार उनी दैनिक करिब ६५ किलोमिटर हिँड्थे।
प्रकाशित मिति २०८० मङ्सिर २० गते बुधबार ०८:२८