यी संकेतले महिलालाई महिनावारी कि गर्भवती भन्नेमा झुक्याउँछ

यी संकेतले महिलालाई महिनावारी कि गर्भवती भन्नेमा झुक्याउँछ

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर १४ गते आईतबार ०५:३५

काठमाडौँ । अचेलको खानपान, रहनसहन र वातावरणमा आएको परिवर्तनसँगै महिला स्वास्थ्यमा पनि धेरै परिवर्तन र समस्याहरु देखिन थालेका छन्। वातावरण प्रदुषण, खानामा मिसावट र फलफूल र सागसब्जीमा हालिने विषादिका कारण धेरै विवाहित महिलाहरुमा...

काठमाडौँ । अचेलको खानपान, रहनसहन र वातावरणमा आएको परिवर्तनसँगै महिला स्वास्थ्यमा पनि धेरै परिवर्तन र समस्याहरु देखिन थालेका छन्। वातावरण प्रदुषण, खानामा मिसावट र फलफूल र सागसब्जीमा हालिने विषादिका कारण धेरै विवाहित महिलाहरुमा बाँझोपन र गर्भपातको समस्या देखिन थालेको छ।

महिनावारीपूर्वको संकेत र गर्भवतीको पहिलो संकेत प्राय उस्तै हुने हुँदा धेरै महिलाहरु झुक्किने र समस्या उत्पन्न हुने गर्दछ। ‘महिनावारीपूर्वको संकेत महिनावारी शुरु हुन केही अगाडि देखिन्छ। यस्ता संकेतहरू महिनावारी शुरु भएपछि आफैँ रोकिन्छ। गर्भधारण वा गर्भवतीको पहिलो संकेत पनि महिनावारीपूर्व कै संकेत जस्तो हुन्छ। तर सबै महिलामा एकै किसिमको वा सबै संकेत देखिन्छ नै भन्ने पनि हुँदैन।’थकान, वाकवाकी, रक्तश्राव, ऐंठन, स्तनमा दुखाई, मनोदशामा परिवर्तन र खानामा रुची-अरुची महिनावारीपूर्व र गर्भवती अवस्थाका संकेतहरू हुन् जुन प्रायः महिलाहरुमा देखिन्छ।

थकान

महिनावारीपूर्वः महिनावारी पूर्व शरीरमा थकान देखिनु र सुत्नमा समस्या हुनु सामान्य हो। यस्ता संकेतहरू महिनावारी शुरु भएसँगै हराउँदै जान्छन्। हल्का व्यायाम गर्नाले निद्रा लाग्नुका साथै थकानलाई केही मात्रामा घटाउँछ।

गर्भवतीः गर्भवती भएको समयमा हर्मोनको स्तरमा वृद्धि हुने भएकाले थकान देखिन सक्छ। गर्भवती भएको पहिलो अवस्थादेखि नै देखिन शुरु हने थकान कसैमा तुरुन्तै हट्छ भने कसैमा गर्भवतीको पूर्ण समयसम्म हुन्छ। शरीरलाई व्यवस्थित राख्न उचित प्रकारको खान खानुका साथै पर्याप्त निद्राको समेत आवश्यक पर्छ।

बिसञ्चो र वाकवाकी

महिनावारी पूर्व: महिनावारी पूर्व वाकवाकी लाग्ने सम्भावना त हुँदैन तर खानाको कारण वा पाचनको कारण कहिलेकाहीँ यस्तो समस्या देखिन पनि सक्छ।

गर्भवतीः बिहानीको समयमा केही बिसञ्चो भएजस्तो हुनु गर्भवती भएको संकेत हो। साधारणतया गर्भवती भएको एक महिनापछि वाकवाकी लाग्न शुरु हुन्छ। वाकवाकी हुँदैमा बान्ता ९भोमिटिङ० नै हुन्छ भन्ने पनि हुँदैन। बिसञ्चो पनि बिहान मात्र हुन्छ भन्ने हुँदैन। कसैलाई दिउँसो वा अरु समयमा पनि सञ्चो नभए जस्तो हुने समस्या देखिन्छ। तर सबै महिलामा बिसञ्चो हुने संकेत देखिन्छ भन्ने हुँदैन।

रक्तश्रावः
महिनावारीपूर्वः महिनावारीपूर्व रक्तश्राव हुने वा थोपा देखिने हुँदैन। तर, धेरै तनाव र धपेडीका कारण रगतको थोपा देखिने हुनसक्छ। महिनावारी शुरु भैसकेपछि रक्तश्राव देखिने र रगत पनि अलि धेरै बग्ने हुन्छ। यो महिनावारी अवधिसम्म र कसैकसैमा एक हप्तासम्म पनि देखिन सक्छ।

गर्भवतीः केही महिलाहरूमा गर्भवती भएको पहिलो संकेत नै योनीबाट रगत निस्कनु वा रगतका थोपा देखिनु हुन्छ। यस्तो बेलामा निस्कने रगतको रङ गाढा खैरो वा गुलाबीे हुन्छ। यस्तो श्राव साधारणतया गर्भधारण भएको १० देखि १५ दिनमा देखिन्छ। यो कम मात्रामा र कम समय मात्रै हुन्छ।

ऐंठन
महिनावारीपूर्वः महिनावारी हुनुभन्दा २४ देखि ४८ घण्टा पूर्व पेटमा दुखाई वा ऐंठन हुने हुन्छ। यस्तो दुखाई महिनावारीको समयमा नै बिस्तारै हराएर जान्छ। साधारणतया, महिनावारीको ऐंठन पहिलो गर्भधारणसँगै घट्दै जान्छ। केही महिलाहरूमा भने रजनोवृत्तिको शुरु हुने बेलामा एकदमै धेरै ऐंठन वा दुखाई हुनसक्छ।

गर्भवतीः गर्भवती भएको समयमा हलुका दुखाई वा ऐंठन हुनसक्छ। यस्तो बेलाको दुखाई महिनावारीको भन्दा केही कम हुन्छ तर दुखाई तल्लो पेटमा र ढाडको तल्लो भागमा हुने गर्छ।यदि पहिला गर्भपात भैसकेको छ भने यस्तो लक्षणहरूलाई गम्भीर रूपमा लिनुहोस्। पर्याप्त आराम गर्नुहोस् र चिकित्सकको सल्लाह लिनुहोस्। गर्भवती समयमा यस्तो दुखाई वा ऐंठन हप्तादिन वा महिनासम्म पनि हुन्छ। यदि गर्भवती भएकै हो र दुखाईका साथै पानी पनि बगेको छ भने तुरुन्तै चिकित्सकलाई भेट्नुहोस्।

स्तनमा दुखाई
महिनावारी पूर्वः महिनावारी पूर्वको समयमा स्तन सुन्निएको र कमलो भएको जस्तो हुन्छ। महिनावारी शुरु हुनुभन्दा ठीक अघि कोमलता अलिअलिदेखि धेरैसम्म पनि हुनसक्छ। यस्तो बेलामा स्तनका तन्तुहरू सुन्निएको र फैलिएको जस्तो हुन्छ। यस्तो समयमा अलिअलि दुखाई पनि हुनसक्छ। महिनावारीको समयमा हर्मोनको स्तरमा आउने कमीसँगै यस्तो दुखाई घट्दै जान्छ।

गर्भवतीः गर्भवती भएको समयमा स्तन दुख्ने, संवेदनशील हुने र स्पर्श गर्दा नरमपन देखिने हुन्छ। गर्भवती समयमा स्तन ठूला देखिने गह्रौँ लाग्ने पनि हुन्छ। यस्तो परिवर्तन गर्भधारण गरेको दुईतीन हप्तापछि देखिन थाल्छ र हर्मोनको स्तर बढिरहने समय भएकाले गर्भवती कालभरि देखिइरहन्छ।

मनोदशामा परिवर्तन
महिनावारीपूर्वः महिनावारी पूर्वको समयमा चिडचिडाहट बढ्छ। चिन्ता बढ्ने रुन मन लाग्ने पनि हुन्छ। यस्ता लक्षणहरू महिनावारी शुरु भएसँगै हराउँदै जान्छ। हलुका व्यायाम र पर्याप्त निद्राले यस्ता समस्या समाधान हुन्छ। तरपनि यस्तो कारणले अप्ठेरो, दुखित र निराश भइन्छ भने अवसाद÷डिप्रेशनमा जान सकिन्छ। त्यसैले तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ।

गर्भवतीः गर्भवती भएको समयमा मानसिक अवस्थामा परिवर्तन आउँछ, ‘मुड चेन्ज’ हुन्छ। यस्तो परिवर्तन, गर्भवती समयभर, शिशुको जन्म नभएसम्म हुनसक्छ। परिवारमा आउन लागेको नयाँ सदस्यप्रति उत्साहित हुन उन्मादित हुन सकिन्छ भने दुःख लाग्ने वा रुन मन लाग्ने पनि हुन्छ। महिनावारी पूर्व वा गर्भवतीकाल जुनैमा पनि अवसादग्रस्त अनुभव भयो भने चिकित्सकको सल्लाह लिइहाल्नु नै सबैभन्दा उत्तम उपाय हो। गर्भवती समयमा अवसाद वा डिप्रेसन हुनु सामान्य हो तर पनि यसको उपचार गर्न जरुरी छ।

खाना
महिनावारीपूर्वः महिनावारीपूर्व खाना व्यवहारमा भएको परिवर्तनमा खासै ध्यान जाँदैन। चक्लेट, चिनी, मिठाई होस् वा नुनिलो खाना जे पनि खान मन लाग्ने हुन सक्छ। त्यो समयमा भ्रामक खाले भोक जाग्ने गर्छ।

गर्भवतीः गर्भवती भएको समयमा खासै खान मन नलाग्ने हुनसक्छ। जुन कुरा अरुबेलामा खुब मनपर्ने हुन्छ, गर्भवती समयमा त्यही खान मन नलाग्ने हुन्छ। यस्तो बेलामा केही गन्ध र स्वाद, जुन पहिला मनपथ्र्यो, त्यो पनि मनपर्दैन। गर्भवती समयभरी यस्तो हुनसक्छ। यस्तो बेलामा कसैकसैलाई अखाद्य पदार्थ समेत खान मनलाग्ने हुनसक्छ।

यी र यस्ता लक्षणलाई चिन्नुहोस् र आफ्नो राम्रो ख्याल राख्नुहोस्। गर्भवती भएको शंका लागेमा चिकित्सकको सल्लाह लिई गर्भ परीक्षण गराउने र बेलाबेलामा पाठेघरको जाँच पनि गराउनु पर्ने डा।प्रधान बताउँछिन्।

प्रकाशित मिति २०७७ मङ्सिर १४ गते आईतबार ०५:३५
प्रतिक्रिया दिनुहोस