तेन्जी शेर्पा १८ औँ पटक सगरमाथामा

तेन्जी शेर्पा १८ औँ पटक सगरमाथामा

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १० गते सोमबार १२:५०

जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ खोलाखर्कका तेन्जी शेर्पा १८ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । सुमी ट्रेक मार्फत सगरमाथा आरोहणमा जानुभएका क्लाइम्बिङ गाइड उनी सात आरोहीको नेतृत्व गर्दै शिखरमा...

जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ खोलाखर्कका तेन्जी शेर्पा १८ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । सुमी ट्रेक मार्फत सगरमाथा आरोहणमा जानुभएका क्लाइम्बिङ गाइड उनी सात आरोहीको नेतृत्व गर्दै शिखरमा पुगेका हुन् ।

सोही कम्पनी मार्फत सगरमाथा आरोहणमा गएका लाक्पा दावा शेर्पाकाअनुसार उक्त टोली आज बिहान ४ः३० बजे शिखरमा पुग्न सफल भएको हो । अमेरिकन नागरिक डोन र एरिक तथा बेलायती नागरिक ज्याक सहित उनीहरुका ४ जना सहयोगी शेर्पा क्लाइम्बिङ गाइड सगरमाथाको चुचुरोमा पुगेर फर्केको आधार शिविरबाट क्लाइम्बिङ गाइड लाक्पा दावाले जानकारी दिए । उनीहरु अब तीन दिनमा आधार शिविर आइपुगेर काठमाडौं फर्कने बताइएको छ ।

आइतबार अनुकूल मौसम हुँदा करिब १५० आरोही शिखरमा पुगेका थिए भने आज साउथ समिटमा अत्यधिक हावाका कारण केही आरोही मात्रै शिखरमा पुगेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

आइतबार आरोहण गर्न नसकेका केही समूहका आरोही मात्र शिखर पुगेको भएपनि एकिन विवरण भन्न नसकिने उनको भनाइ छ । जोखिम न्यूनिकरणका लागि एक अर्काबीच भेटघाट नहुँदा विवरण लिन नसकिएको हो ।

यस्तै सयौं आरोही अनुकूल मौसमको पर्खाइमा क्याम्प २ मा रहेको बताइएको छ । तर केही दिन आरोहणका लागि मौसम अनुकूल नदेखिएको सम्पर्क अधिकृत श्रेष्ठले बताए । अब मे २८ र २९ मा आरोहण अनुकूल मौसम हुनसक्ने भएकाले सोही समयको पर्खाइमा आरोही रहेको बताइएको छ ।

प्रकाशित मिति २०७८ जेठ १० गते सोमबार १२:५०
प्रतिक्रिया दिनुहोस